खाल्डोमा डुबेर ४ बालिकाको मृत्यु

0
Shares

 

सञ्जय कार्की, रौतहट
खाल्डोमा जमेको पानीमा डुबेर शनिबार रौतहटमा ४ जना बालिकाको मृत्यु भएको छ। घरमा पालेको चौपाया वस्तुका लागि खेतबारीमा घाँस काटेर घर फर्कने क्रममा गरुडा नगरपालिकास्थित सडक पेटीमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर सोही नगरपालिका निबासी १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता साह, ९ वर्षीया सुनैना साह र ९ वर्षीया सुस्मिता साहको मृत्यु भएको हो।

डिभिजन सडक कार्यालयबाट निर्माणधीन गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयभन्दा पूर्वमा रहेको ग्रामीण सडक बाटोको छेउमा खनिएको खाल्डोमा डुबेर ती बालिकाको मृत्यु भएको हो।

सडक बनाउनका लागि बाटोको दुवैपट्टि माटो खनेर खाल्डो बनाइदिएको र सो खाल्डो नपुरिदिएका कारण बालबालिकाको अकालमै मृत्यु भएको जनाइएको छ। चार जना बालिकाको मृत्यु भएपछि स्थानीय बासिन्दाहरू डिभिजन सडक कार्यालयका कर्मचारी र ठेकदारसँग आक्रोशित भएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मृत्यु भएका चारै जना एकाघरका रहेका छन्। उनीहरू तीन दाजुभाइका चार छोरी हुन्। प्रहरी कार्यालयनजिकै भएको घटनामा समेत प्रहरीले उद्दार गर्न ढिलाइ गरेको स्थानीयले आरोप लगाएका छन्।
चारै जना बालिकाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल, गौरमा शव पुर्याइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।