योजना आयोगलाई ‘थिंक ट्यांक’ का रूपमा विकास गरिने


 

नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राष्ट्रिय योजना आयोगलाई बजेट स्वीकृतिको कर्मकाण्डी निकाय नभएर आर्थिक विकास, योजना तथा तर्जुमा र दीर्घकालीन विकासका लागि ‘थिंक टइंक’को रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभएको छ। वाग्लेले संघीयता अनुकूल आयोगको अस्तित्व जीवन्त राख्न आयोगको पुनर्संरचना गर्ने आफ्नो पहिलो प्राथमिकता रहेकोसमेत बताउनुभयो।

नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य दृष्टिगत गर्दै आर्थिक समृद्धिको रोडम्याप तयार गर्नु आफ्नो कार्यकालको पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै वाग्लेले भन्नुभयो– ‘आयोगलाई आवधिक योजना गाँसगँुस गर्ने निकायका रूपमा मात्र नभई यसको पुनर्संरचनाको बहसलाई तार्किक निष्कर्षमा पुर्याउने मेरो प्राथमिकता छ।’

आयोगको उपाध्यक्षको नियुक्त भएसँगै वाग्लेले भिजन २०३० र दिगो विकास लक्ष्यअनुसार देशको आर्थिक, सामाजिक तथा वातावरणीय विकासमा समन्वय गर्ने बताउनुभयो। नवनियुक्त उपाध्यक्ष वाग्लेले चलिरहेको आर्थिक सुधारमा होस्टेमा हैंसे गर्न आग्रह गर्दै राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा समन्वय गर्न आफू सदैव लागि पर्ने दाबी गर्नुभयो।

आफू दुई पटक योजना आयोगको सदस्य रहेको स्मरण गर्दै वाग्लेले आफ्नो योजनाअनुसार नेपाललाई सन् २०२० भित्र कम विकसित राष्ट्रबाट मध्यम आयस्तरको राष्ट्र बनाउने ‘भिजन’ साकार पार्ने बताउनुभयो। त्यसका लागि वाग्लेले स्थानीय निकायसँग सहकार्य गर्दै अघि बढ्ने र योजना निर्माण र कार्यान्वयनलाई केन्द्रदेखि गाउँसम्म पुर्याउने योजना सुनाउनुभयो।

कार्यकालभरि बजेट तथा योजना निर्माणमा व्यस्त हुने वाग्लेको योजना छ। आर्थिक उन्नतिका लागि अब आन्तरिक तथा बाह्य पुँजी परिचालनको खाँचो रहेको वाग्लेको बुझाइ छ। उहाँले सुशासन कायम गर्ने करको दायरा बढाउने तथा रोजगारीका अवसर सृजना गरी देशको अर्थतन्त्र चलायमान बनाउन योगदान दिनेसमेत जानकारी दिनुभयो। वाग्लेले कर्मचारीतन्त्रमा नयाँ पुस्तालाई अवसर दिन थालिएकोमा खुसीसमेत व्यक्त गर्नुभयो।

बिहीबार मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको हो।

योजना आयोगका सदस्य रहेका वाग्लेलाई बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो।

अस्ट्रेलियाको अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका वाग्लेले अमेरिकाको हार्वड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएको छ। उहाँ २०४६ सालको एसएलसी परीक्षामा बोर्ड सेकेण्डसमेत हुनुहुन्छ।

विश्व बैंक, यूनडीपीलगायत अन्तर्राष्ट्रिय संस्थामा अनुभव हासिल गरिसक्नुभएका वाग्लेलाई सुशील कोइराला नेतृत्व सरकारमा योजना आयोगको सदस्यमा नियुक्त गरिएपछि नेपाल फर्किनुभएको थियो। माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट वाग्ले पुनः सदस्य बन्नुभएको थियो। प्रचण्ड सरकारले उपाध्यक्ष बनाएका मीनबहादुर श्रेष्ठले सोमबार उपाध्यक्ष पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद खाली भएको थियो।

उहाँले विश्व बैकको मुख्यालय वासिङ्टन डिसीमा वरिष्ठ अर्थशास्त्रीको रूपमा समेत लामो समय काम गरिसक्नुभएको छ। उहाँका दर्जनभन्दा बढी अर्थशास्त्रसम्बन्धी प्राज्ञिक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन्।
उहाँ नेपालबाट अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिने चर्चित युवा अर्थशास्त्रीको सूचीमा पर्नुहुन्छ।