सबैभन्दा सेक्सी महिला मोटरसाइकल चालकको मृत्यु


 

मस्को, (एजेन्सी)
रसियाको सबैभन्दा सेक्सी महिला मोटरसाइकलको रूपमा चर्चित ओल्गा प्रोनिनाको सडकमा मोटरसाइकल दौडाउने क्रममा भएको भयानक दुर्घटनामा मृत्यु भएको छ। सोमबार साँझ रसियाको भ्लादिभोस्टक शहरमा मोटरसाइकल दौडमा प्रतिस्पर्धा गर्ने क्रममा उनले नियन्त्रण गुमाएको बीएमडब्ल्यू मोटरसाइकल सडक छेउको रेलिङमा नराम्ररी ठोकिन पुगेको थियो।

आफ्ना प्रशंसकहरू माझ इन्स्टाग्राममा मोनिकाको उपनामले चिनिने तथा एक सन्तानकी आमा उनको घटनास्थलमा आपत्कालीन स्वास्थ सेवा आइपुग्नुअघि नै मृत्यु भएको रुसी प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा उनको १ लाख ५० हजारभन्दा बढी फ्लोअर रहेका छन्।

उनका साथीहरूले उनलाई सन्काहा ढंगले अत्यधिक गतिमा मोटरसाइकल कुदाउन रुचाउने व्यक्तिको रूपमा हेर्ने गरेका छन्। पछिल्लो समयमा इन्स्टाग्राममा पोस्ट गरिएका उनका भिडियोमध्ये एउटामा हेयर ड्रेसरको रूपमासमेत काम गर्ने उनले तीव्र गतिमा मोटरसाइकल कुदाउँदै पाइपबाट केही पिइरहेको देखिन्छ। तर, उनले आफ्ना फ्लोअरलाई चेतावनी दिँदै लेखेकी छिन्– ‘१ सय ५० किमि प्रतिघण्टाको वेगमा एक हात व्यस्त राख्दै अर्को हातले मात्र मोटरसाइकल चलाउनु निकै असजिलो छ। म तपार्इंहरूलाई यसरी मोटरसाइकल चलाउन सिफारिस गर्दिनँ। तर, मैले भने आफ्नो इच्छा पूरा गरेकी छु।’ दुर्घटनास्थलबाट मोटरसाइकलको अगाडिको पांग्रा उछिटिएर ६ सय मिटर पर पुगेको थियो। स्थानीय सञ्चारमाध्यमले उनले सवारीसम्बन्धी थुप्रै सुरक्षा नियम तोडेको जनाएको छ। उनका प्रशंसकहरूले भने समवेदना प्रकट गर्दै उनले स्वर्गमा राम्रा सडकहरू भेटून् भनी कामना गरेका छन्।

प्रहरीले उनको स्पष्टरूपमा दुर्घटनामा मृतयु भएको र उनको मृत्यु सम्बन्धमा कुनै शंकाको आवश्यकता नै नरहेको बताएको छ। अनुसनधानकर्ताले उनको एक्सन क्यामेरा खोज्ने प्रयास गरिरहेका छन्। केही प्रशंसकहरूले उनको परिवार र साथीसमक्ष उनको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै ‘पागल केटी, शान्तिपूर्वक निदाउनू’ भनी लेखेका छन्।