ओलीलाई भारतीय राजदूतको निम्तो

0
Shares

 

नेपाल समाचारपत्र
भक्तपुर
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी बुधबार नेकपा
(एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नुभएको छ। यसपालिको भारतको ७०औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूताबासमा हुने समारोहको विशेष अतिथिको निम्तो दिन राजदूत पुरी ओली निवास बालकोट पुग्नुभएको हो। समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि आउने र उहाँले पनि ओलीको सहभागिता खोजेकाले पुरीले निमन्त्रणा दिन आउनुभएको हो।

भेटमा एमाले अध्यक्ष ओली र भारतीय राजदूत पुरीबीच आसन्न निर्वाचन र दुई पक्षीय हितबारे छलफल भएको ओली निवास स्रोतले जनाएको छ। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय सचिव अनिश दाहालले भेटका क्रममा नेपाल भारत सम्बन्धमा केही उतार–चढाव आए पनि राजनीतिक र जनस्तरमा सम्बन्ध नबिग्रिएको ओलीले बताउनुभएको उल्लेख गर्नुभयो।
ओली र सिंहबीच करिब दुई घण्टा औपचारिक छलफल भएको थियो। ‘नेपाल–भारतबीचको सम्बन्ध निकै हार्दिकतापूर्ण छ,’ छलफलमा ओलीले भन्नुभयो– ‘केही व्यक्तिले निहीत स्वार्थलाई केन्द्रमा राखेर गरिएका गतिविधिले दुई देशको सम्बन्धमा समस्या भएको छ।’

छलफलमा ओलीले नेपाल र भारतबीचको सम्वन्ध अब हार्दिकतापूर्ण रहेको धारणा राख्नुभएको थियो। ओली र राजदूत पुरीबीच दुई देशको सम्बन्ध सुधार्ने बारेमा छलफल भएको छ। छलफलमा ओलीले राजदूत पुरीलाई केही व्यक्तिले सम्बन्ध विगार्न खोजे पनि राजनीतिक तह र जनस्तरमा भने सम्बन्ध राम्रो रहेको जानकारी गराउनुभएको थियो।

छलफलमा ओलीले स्थानीय निर्वाचनका क्रममा विविध ब्यवधानका बाबजुद बीच पनि एमालेले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको सफलताका बारेमा बतााउनुभएको बुझिएको छ । ओलीले छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाका गतिविधिप्रति असन्तुष्ठि ब्यक्त गर्दै सरकारले चुनाव गराउन प्रति आलटाल गरिरहेको बताउनुभएको थियो। उहाँले छलफलका क्रममा प्रदेश तहको भन्दा पनि केन्द्रीय निर्वाचन अहिलेको आवश्यकता भएको भन्दै सरकार केन्द्रीय निर्वाचन टार्ने खेलमा लागेको आरोप लाउनुभएको दाहालको भनाइ छ।

भेटमा सिंहले नेपाल–भारतबीच धार्मिक, साँस्कृतिक र पारस्पारिक सम्बन्ध रहेको भन्दै दुई देशबीचको निकट सम्बन्ध अरू देशसँगको भन्दा पृथक रहेको बताउँदै सम्बन्ध सुधार्नुपर्नेमा जोड दिनुभएको थियो। भेटका क्रममा राजदूत पुरीले कसैले चाहेर पनि नेपाल भारत सम्बन्ध बिग्रन नसक्ने बताउनुभएको दाहालले बताउनुभयो। उहाँले भारत पहिलाको जस्तो नभएको र दुई पक्षीय सम्बन्धमा सुधार आएको भन्दै भारतले नेपालसँग द्वन्द्व होइन पारस्पारिक सम्बन्ध चाहेको बताइएको छ।राजदूत पुरीले ओलीलाई हालसम्मको दुई चरणको स्थानीय तह चुनावमा एमाले पहिलो दल भएकोमा बधाईसमेत दिनुभएको छ।