जिससको निर्वाचनमा एमालेको मात्रै मनोनयन

0
Shares

 

पोखरा, १६ साउन । यही साउन २० गते हुने जिल्ला समन्वय समिति कास्कीको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारले मात्रै आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुखमा वैनबहादुर अधिकारी क्षेत्री र उपप्रमुखमा सावित्री भण्डारीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो । गत वैशाख ३१ गते भएको निर्वाचनमा क्षेत्री पोखरा लेखनाथ महानगरपालिका–२८ का वडा सदस्य र उपप्रमुख भण्डारी वडा नं ३१ का महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै तीन खुला सदस्यमा बृहस्पति सापकोटा, विष्णुप्रसाद पौडेल र तोरणबहादुर बानियाँ, तीन महिला सदस्यमा सीता विक, गुमादेवी अधिकारी र जगन गुरुङ तथा अल्पसंख्यकमा रुपबहादुर माल थापाले मनोनयन दर्ता गराउनुभएको छ । उहाँहरु सबैको प्रस्तावकमा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र समर्थकमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा बस्नुभएको छ ।
एक महानगर र चार गाउँपालिका भएको कास्कीमा एमालेले एक प्रमुख, एक उपप्रमुख, तीन गाउँपालिका अध्यक्ष र चार गाउँपालिका उपाध्यक्ष जितेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । यसरी एमालेका नौ मत र काँग्रेसको एक मत छन् । रासस