भेरीमा पुल नहुँदा विद्यालय जानबाट वञ्चित


 

सरिता चलाउने, सल्यान
वर्षासँगै भेरी नदीमा पानीको सतह बढेपछि सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–३ बामेस्थित थाँरा, कारागाउँ र पोखराका ५० भन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्।

नदीमा पुल नहुँदा आउजाउमै समस्या परेको छ। बामे क्षेत्रका बालबालिकाले सुर्खेत, बजेरीचौरको भानु माविमा अध्ययन गर्दै आएका छन्। भेरीमा पानीको सतह घटेर पौडी खेल्न सक्ने अवस्था नहुँदासम्म आफूहरू विद्यालय जान नसक्ने विद्यार्थीको भनाइ छ।
बामे क्षेत्र सल्यानको बन्गाड कुपिन्डे नगरपालिकाको सबैभन्दा विकट बस्ती हो। हरेक सालको वर्षामा एक महिनाभन्दा बढी समय पढाइ छुट्ने गरेको विद्यार्थीको गुनासो छ।

स्थानीयका अनुसार भेरीमा झोलुंगे पुल निर्माणका लागि प्रत्येक वर्ष गाउँपरिषद्बाट पास गरेर पठाए पनि खर्च बढी लाग्ने भन्दै सरकारी निकायले बेवास्ता गरेको छ। डुंगासमेत बन्द भएपछि दैनिक उपभोग्य वस्तु खरिद र गाउँका उत्पादित सामग्री ओसारपसारमा समस्या छ।