एमाले बैठकमा ओलीको तिब्बत भ्रमणको समीक्षा, केही जिल्लाको समन्वय परिषद्मा छनोट

0
Shares

 

पुष्कर बुढाथोकी, भक्तपुर
नेकपा एमालेले स्थानीय तहको निर्वाचनअन्तर्गत केही जिल्लाको जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्र्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र राय सुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा कतिपय जिल्लाहरूमा नोमिनेसन प्रक्रिया चलिरहेको अवस्थामा उम्मेदवार सर्वसम्मत बनाउनका लागि सम्बन्धित प्रदेश कमिटीका इन्चार्जलाई जिम्मा लगाउने निर्णय भएको छ। त्यस क्रममा पार्टी अध्यक्ष ओलीले भर्खरै मित्र राष्ट्र चीनको तिब्बत हुँदै मानसरोवरको भ्रमणका क्रममा चिनियाँ सरकारका उच्च अधिकारीसँग भएको बैठक र छलफलको बारेमा जानकारी गराउनुभएको थियो।

एमालेको सरकारको पालामा उत्तर र दक्षिण नाका खोल्ने निर्णय भएको र कार्यक्रम नै अघि बढाएको बारेमा चिनिया प्रतिनिधिसँग कुराकानी भएको र सिन्धुपाल्चोकको नाका भूकम्पपछि पुनः खोल्न चिनियाँ पक्ष सकारात्मक भएको कुरा अध्यक्षले बैठकमा राख्नुभएको उल्लेख गर्दै भट्टराईले चीन र नेपाल दुई पक्षीय हितबारे छलफल भएको जानकारी दिनुभयो। बैठकमा समसामयिक विषय, निर्वाचन क्षेत्र निर्धारण, आउने संसदीय र प्रदेश सभाको निर्वाचनको सन्दर्भलगायतका राष्ट्रिय राजनीतिका विषयमा समेत छलफल भएको र थप छलफल गर्नुपर्ने आवश्यक भएकाले आइतबार ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन बैठक बस्ने उहाँले जानकारी दिनुभयो।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आइतबारको बैठकले रामेछापको प्रमुखमा प्रेमबहादुर खड्का, उपप्रमुखमा दीपा पाख्रिन, रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनी, भक्तपुरको प्रमुखमा नवराज गेलाल, उपप्रमुखमा सरिता कुँवर, डोल्पाको प्रमुखमा विशोरबहादुर बुढा, सल्यानको उपप्रमुखमा कुलबहादुर गिरी, कालिकोटको प्रमुखमा पे्रमबहादुर शाही, उपप्रमुखमा सरिता आचार्य, जाजरकोटको प्रमुखमा गोरे कार्की र उपप्रमुखमा कमलादेवी शाहीको नाम टुंगो लगाएको छ।

यसै गरी हुम्लाको उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतको प्रमुखमा टोपबहादुर राजकोटी, उपप्रमुखमा दीपा मल्ल, मुगुको प्रमुखमा पूर्णबहादुर रोकाय, उपप्रमुखमा कर्णशिला मल्ल, खोटाङको प्रमुखमा बबी चाम्लिङ, उपप्रमुखमा गोमा खत्री, इलामको प्रमुखमा गणेश बराल, उपप्रमुखमा चित्रकला बराइली र बझाङको प्रमुख खड्गबहादुर खड्का र उपप्रमुखमा भागिरथी अवस्थी जोशी, पाल्पामा दयाराज बस्याल र हीरामायाको नाम टुंगो लगाइएको छ।
बैठकमा कतिपय जिल्लामा उम्मेदवार सर्वसम्मत बनाउनका लागि सम्बन्धित प्रदेश कमिटीका इन्चार्जलाई जिम्मा लगाउने निर्णय भएको छ।