अमेरिकी रक्षा बजेटको ठूलो हिस्सा भियाग्रामा खर्च


 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर गर्दै सेनामा हिजडाहरूलाई प्रवेश नदिलाउने विवादास्पद अभिव्यक्ति दिइरहेका बेला सरकारी सेनामा यौन उत्तेजक औषधि भियाग्राबारे पनि प्रश्न उठ्न थालेको छ। ट्रम्पले हिजडाहरूको स्वास्थ्य उपचारमा धेरै पैसा खर्च हुने कारण तिनीहरूलाई यस सेवाबाट टाढै राख्न खोजिएको बताएका छन्।

दि मिलिटरी टाइम्स अखबारका अनुसार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले वर्षेनी झन्डै ८ करोड ४० लख डलर यौन शक्तिवद्र्धक औषधि खरिदमा खर्च गर्ने गरेको छ। तर त्यसको विपरीत गत वर्ष र्यान्ड कर्पोरेसन नामक एक बौद्धिक संस्थाले हिजडाहरूको स्वास्थ्य उपचारलाई लिएर सेनाको स्वास्थ बजेटमा अधिकतम ८४ लाख डलर मात्र बढ्न जाने बताएको थियो। तर अमेरिकी रक्षा विभागले लिंग उत्तेजित गर्ने यस औषधिमा किन यति धेरै खर्च गर्दछ त ? सन् २०१४ को रक्षा स्वास्थ्य निकायको तथ्यांकमा आधारित सन् २०१५ को फेब्रुअरीमा सार्वजनिक भएको मिलिटरी टाइम्सको प्रतिवेदनले यो वास्तविकता खोलेको हो। उक्त प्रतिवेदनमा सन् २०११ यता भियाग्रा, सियालिस र अन्य यौन उत्तेजक औषधिका लागि मात्र रक्षा मन्त्रालयले २९ करोड ४० लाख डलर खर्च गरिसकेको जनाइएको छ।

जुन रकमले केही लडाकू जेट विमान नै खरिद गर्न पुग्छ। सन् २०१४ मा स्वास्थ्य उपचार सम्बन्धमा करिब ११ लाख ८० हजार डाक्टरी सिफारिसपत्र प्राप्त भएको थियो। त्यसमध्ये पनि सबैभन्दा बढी सिफारिस भियाग्राका लागि प्राप्त भएको थियो। तर त्यति धेरै परिमाणमा सिफारिस कसका लागि प्राप्त भएको थियो भन्ने स्पष्ट भएको छैन।

तीमध्ये केही औषधि कार्यरत र सक्रिय फौज र कर्मचारीलाई गएको भने पक्कै हो। तर बाँकी थुप्रो परिमाणमा भियाग्रा अन्य समूहमा पुगेको बताइएको छ। यसरी भियाग्रा प्राप्त गर्नेमा लाखौं अवकाश प्राप्त सैनिक र तिनका सम्बन्धित परिवार रहेका छन्।

वास्तवमा सन् २०१२ मा मात्र पेन्टागनले अनुमानित १ करोड व्यक्तिलाई लक्षित गर्दै स्वास्थ स्याहार प्राणलीअन्तर्गत ५२ अर्ब डलर खर्च गरेको थियो। वृद्ध पुरुषहरूमा लिंग उत्तेजनामा समस्या आउने भएकाले सबैभन्दा ठूलो बिल अवकाश प्राप्त सैनिकका लागि खर्च भएको स्पष्ट हुन्छ।

दि मिलिटरी टाइम्सका अनुसार हाल कार्यरत सैनिकका लागि यसमा १० प्रतिशतभन्दा कम पैसा खर्च भएको छ। तर इराक र अफगानिस्तान युद्ध शुरू भएयता भने यौन उत्तेजना समस्या भएका अमेरिकी सेनाको संख्या बढ्दै गइरहेको छ।