गाडी छिर्ने बाटो नहुँदा मल फिर्ता

0
Shares

 

विमल विष्ट, डोटी
सुन्दा पनि अचम्म लाग्नसक्छ। सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा रहेको कृषि सामग्री कम्पनीमा ठूलो ट्रक जाने बाटो नभएका कारण सयौं क्विन्टल युरिया मल फिर्ता भएको छ।

यहाँका किसानहरूका लागि भैरहवाबाट मगाइएको ६ सय ४० क्विन्टल मल लिएर आएका ३ वटा लोड एलपी ट्रक कार्यालयसम्म पुग्न नसक्दा राजमार्गको बाटोबाटै फिर्ता भएको कृषि सामग्री कम्पनी, दीपायलका प्रमुख कुम्भराज जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘किसानका लागि मल मगाएका थियौं, कार्यालयसम्म आउने बाटो नहुँदा रोकिएका छन्, अब ती लोड ट्रक कैलाली जान्छन् वा भैरहवा फर्किन्छन् थाहा छैन।’ कार्यालयसम्म ठूलो ट्रक जाने बाटो नहुँदा मल फिर्ता भएपछि स्थानीय किसान मर्कामा परेका छन्। कृषि सामग्री कम्पनीमा ठूलो ट्रक जाने बाटो नभए पनि साना जिप तथा ट्याक्टरहरू भने निर्बाध रूपमा चलिरहेका छन्। ठूला गाडीहरू कार्यालयसम्म जाने बाटोमा नछिरे पनि साना गाडीहरूमा मल अन्लोड गरी कार्यालयसम्म किन पुर्याइएन यो भने चासोको विषय बनेको छ।

यति मात्र नभई दीपायलका लागि भैरहवाबाट ४ वटा युरिया मलका गाडी लोड भएको कृषि सामग्री कम्पनी प्रमुख जोशीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘मल कम्पनीसम्म भित्त्याउनका लागि नगरपालिकालगायत विभिन्न निकायमा पहल गरेको छु, दीपायलस्थित एरपोर्टको बाटोमा ग्राभेल गरेर भए पनि फिर्ता हुन लागेका गाडी भित्त्याउने कोशिस गर्दै छौं।’ उता डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बाटो नभएकै कारण मलका गाडी फिर्ता नहुने बताउनुभयो।