काष्ठमण्डपबारे सबै तात्दै



 

ईश्वरराज ढकाल, काठमाडौं
सरोकारवाला निकायले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरी काण्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउने भएको छ।

भूकम्प गएको दुई वर्ष पुगिसक्दा पनि इतिहास बोकेको काष्ठमण्डप बन्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले सबैको सहयोगमा एक हप्ताभित्र पुनर्निर्माणको टुङ्गो लगाउने भएको छ। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ का सांसद नवीन्द्रराज जोशीको पहलमा गत बिहीबार भएको बैठकमा तत्काल काष्ठमण्डप बनाउने विषयमा छलफल भएको थियो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधि आइसकेको अवस्थामा अन्य निकायले भन्दा पनि महानगरपालिकालै नै पुनर्निर्माण गर्ने बताउनुभएको थियो। उहाँले कामपाले रकम विनियोजना गरिसकेको अवस्थामा विदेशीको सहयोग नलिईकनै आफैले बनाउने योजना सुनाउनुभएको थियो।

पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल, कामपाका मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी, काष्ठमण्डप इन्जिनियरद्वय सुदर्शनराज तिवारी र प्रेमराज मास्के, प्राधिकरणका प्रतिनिधि र कामपा वडा नम्बर १९, २०, २३ र २४ का वडा अध्यक्षसहितको बैठकले तयार भएको नक्सा महानगरपालिका, प्रधिकरण र पुरातत्त्व विभागले पुनः केही अध्ययन गर्ने निर्णय गरेको थियो।
सांसद जोशीले कुनै पनि बहानाबाजी गर्नुभन्दा पनि तत्काल पुनर्निर्माण गर्नु अत्यावश्यक रहेको बताउँदै त्यसका लागि विभागले सम्पूर्ण ड्रइङ तथा डिजाइन उपलब्ध गराउनुपर्ने बताउनुभएको थियो। उहाँले स्थानीयलाई सहभागी गराई यसको पुनर्निर्माण गरिनुपर्ने बताउनुभयो। काष्ठमण्डपको नक्सा इन्जिनियर मनोहरलाल राजभण्डारीले करिब ३ महिना लगाएर निर्माण गर्नुभएको हो। ७४ वर्षीय वरिष्ठ इन्जिनियर भण्डारीले सबैको सल्लाहअनुसार नक्सा तयार गरेको जानकारी गराउनुभयो। ‘अब तत्काल पुनर्निर्माण गर्नुको विकल्प छैन’, नक्साको विषयमा जानकारी गराउँदै भन्नुभयो– ‘मैले एक वर्षअघि नक्सा हस्तान्तरण गरिसकेको छु, काण्ठमण्डपलाई सबैले मिलेर बनाउनुपर्छ अब विरोध गर्नुहुँदैन, बन्नुपर्छ।’

बैठकमा मेयर शाक्यले सबै सरोकारवालाको सहयोगमा पुनर्निर्माण शुरु हुने बताउनुभयो। विभागले यो साता प्राधिकरणसँग समन्वय गरी निर्माण प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्ने भएको छ। विभागका महानिर्देशक दाहालका अनुसार अबको एक साताभित्र पुरातत्त्व विभागले सबै सरोकारवालासँग छलफल गरी नक्सामा केही परिवर्तन गर्न आवश्यक भए सोसमेत सम्पन्न गरेर ड्रइङ तथा डिजाइन कामपालाई हस्तान्तरण गर्नेछ।

‘हामी सबै विज्ञसँग पुनः छलफल गर्नेछौं। काष्ठमण्डप पुनर्निर्माण अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठलगायतका अभियानकर्तासँग समेत छलफल गरेर निर्णय गर्ने तयारी गरेका छौं।’ –विभागका महानिर्देशक दाहालले भन्नुभयो। कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पुनर्निर्माणमा राजनीति गर्न नहुने बताउँदै सबै मिलेर तत्काल पुनर्निर्माण गर्नुको विकल्प नभएको जानकारी दिनुभयो।

छलफल कार्यक्रममा विभागका महानिर्देशक दाहालले पोल्यान्डमा हालै सम्पन्न विश्व सम्पदा सम्मेलनमा काष्ठमण्डपको वरिपरिका मठमन्दिर पुनर्निर्माण नभएको कारणबाट विश्व सम्पदा सूचीबाट हटाउन लागेको स्मरण गराउँदै अहिले एक वर्षका लागि जोगिएको खतराको सूची पुनः दोहोरिन नदिन सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउनुभयो। उता अभियान कर्ताका संयोजक वीरेन्द्रभक्त श्रेष्ठले अभियान आफैले पुनर्निर्माण गर्ने बताउनुभएको छ।

‘हामीले सबै निकायबीच समझदारी गरिसकेका छौं, स्थानीयबासीको सहयोगमा आफै पुनर्निर्माण गर्नेछौं’, उहाँले दोहोर्याउनुभयो– ‘अभियानले नै हो बनाउने, हैन भने कसले बनाउने हो, स्पष्ट धारणा आउनुपर्यो।’ उहाँले प्राधिकरणसँग भएको समझदारी भंग हुन नसक्ने जिकिर गर्नुभयो। गत वैशाख २९ गते यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिका तथा काष्ठमण्डप पुनर्निर्माण अभियानबीच भएको समझदारीमा काष्ठमण्डपको पुनर्निर्माण अभियानले गर्ने उल्लेख छ।

काण्ठमण्डप पुनर्निर्माणमा विवाद देखिएपछि तत्काल पुनर्निर्माण रोक्न माग गर्दै स्थानीयले काष्ठमण्डम छिर्ने गेटमा तालाबन्दी गरेका छन्। कामपाको सम्पत्तिको रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माण गर्न महानगरपालिकाले १९ करोड रुपियाँको टेन्डर आह्वान गरिसकेको थियो। तर स्थानीयले ठेक्कामा दिन नहुने भन्दै विरोध गरेका कारण पुनर्निर्माण हुन सकेको छैन। काठमाडौंलाई परिचय दिने काण्ठमण्डप २०७२ साल वैशाख १२ को शक्तिशाली भूकम्पबाट ध्वस्त भएको थियो। सातौं शताब्दीमा बनेको राजधानीको मुख्य सम्पदा अब जुनसुकै हालमा निर्माण हुनुपर्ने सरकारी निकायको धारणा छ।

प्रतिक्रिया दिनुहोस्