लापुभीरमा सडक खन्दै सेना

0
Shares

 

सन्तोष अधिकारी, गोरखा
गोरखाको लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तीव्रता दिएको छ। तिब्बत सीमामा जोड्ने बेनीघाट–लार्के सडकको लापुभीरमा ट्रइक खोल्ने काम गरिरहेको छ। यसअघि अति नै गाह्रो भनिएको एक्लेभीर सकेर नेपाली सेनाले लापुभीरमा खन्ने काम थालेको हो।

एक्लेभीरमा सेनाले बम विस्फोट गरेर ट्रइक खोली लापुभीरको काम शुरू गरेको हो। यहाँ पनि बम विस्फोट गराउँदै ट्रइक खोल्ने काम भइरहेको सडक निर्माणमा खटिएका सेनाका मेजर निशान्त क्षत्रीले जानकारी दिए। सेनाले अहिले ट्रइक खोलेको क्षेत्रमा सडक सात मिटर फराकिलो बनेको छ। सो सडकको गत वैशाख ११ गते प्रधानसेनापति राजेन्द्र क्षत्रीले शिलान्यास गरेका थिए।

‘गाह्रो भनिएको एक्लेभीर छिचोलेर अघि बढियो’, क्षत्रीले भने– ‘ट्रइक खोलिएको सबै ठाउँको सडक सात मिटर फराकिलो बनेको छ।’ सेनाले अहिलेसम्म एक हजार मिटरभन्दा धेरै लामो दूरीमा सडक खनिसकेको छ। लापुभीरमा नेपाली सेनाको १ सय २० जना निर्माण दलको टोली नियमित खटिएको छ।

सो सडक निर्माणका लागि दिनहुँजसो बम विस्फोट गर्नुपरेको थियो। धेरै विस्फोट गर्नुपर्ने देखेर नेपाल सरकारले नेपाली सेनालाई नै सो सडक निर्माणको जिम्मा दिएको हो। सो सडक खण्ड हुँदै हिमालपारि गाविस भएका गोरखाका चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको गाउँहरूमा जानआउन सहज हुनेछ। अहिले उत्तरी क्षेत्रमा यातायातको साधनका रूपमा खच्चड र चौंरी मात्र छन्। तिब्बतसँग सीधा यातायात सेवा हुने बताइएको सो सडकको १ सय २१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको छ।

बेनीघाटदेखि हावाडाँडाको सडक ६२ किलोमिटर सडक भने यसअघि नै सडक डिभिजन कार्यालयले निर्माण गरिसकेको छ। नेपाली सेनाले अहिले लापुभीरमा सडक खन्ने काम गरिरहेको भए पनि हावाडाँडादेखि तातोपानीसम्मको १६ किलोमिटर सडकको सर्भेसमेत गरिसकेको छ। बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडकको लम्बाइ १ सय ८३ किलोमिटर छ। जसमध्ये सेनाले आरुघाट–लार्केभन्ज्याङ खण्डको १ सय २१ किमि सडक निर्माण गर्ने जिम्मा पाएको छ। बेनीघाट–आरुघाट–हावाडाँडा खण्डको ६२ किलोमिटर सडक निर्माण भने सडक विभागले गरिरहेको छ।