डीएसपी दास निलम्बित


 

मधुसूदन रायमाझी, काठमाडौं
रामेछापको लिखु गाउँपालिका–२ सैपुकी १४ वर्षीया सुन्तली तामाङ हत्याकाण्डका अभियुक्त भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मा दासलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ। गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डीएसपी शर्मालाई निलम्बन गरेको हो।

विभागीय कारबाहीको सिफारिस भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो। नेपाल समाचारपत्रले ‘कारबाही गर्नुपर्ने डीएसपीलाई पुरस्कार’ शीर्षकमा समाचार प्रकाशित गरेपछि गृहमन्त्री शर्माले डीएसपी शर्मालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ।

साढे पाँच वर्षअघि रामेछापको साविकको सैपु–१ हाल दुरागाउँ गाउँपालिका–२ सैपुकी १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणमा अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिएर भगाएको आरोप लागेका डीएसपी शर्मालाई प्रहरीले तीन दिनअघि मात्र एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो।

विभागीय कारबाही गर्नका लागि मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले प्रहरी प्रधान कार्यालयमा सिफारिस गरे पनि कारबाही गर्नुको सट्टा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले शर्मालाई एसपीमा बढुवा गर्न सिफारिस गर्नुभएको थियो।

कारवाही गर्नुपर्ने डीएसपीलाई पुरस्तृत गरेको भन्दै प्रहरीको आलोचना भएपछि गृहमन्त्री शर्माले बढुवा गर्न सिफारिस गरेको डीएसपी शर्मालाई तत्काल निलम्बन गरी कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएको थियो।

गृह मन्त्री शर्माले फेसबुक पेजमा लेख्नुभएको छ– ‘सामाजिक सञ्जाल तथा सञ्चार माध्यमले डीएसपी सञ्जिव शर्मा दासबारे उठाउनुभएको प्रश्नले बढुवा गर्दा त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो। सबैमा हार्दिक धन्यवाद। सञ्जिव शर्मा बारे थप अनुसन्धान गर्न गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु।’

साँढे पाँच वर्ष अघिदेखि फरार अभियुक्त मुख्य अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रहरी प्रमुख डीएसपी कुमोध ढुंगेलको सक्रियतामा एक महिना अघि नेपाल भारतको सीमाबाट पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो।
अभियुक्त पक्राउ गरेरे सार्वजनिक गर्ने क्रममा सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले तत्कालीन डीएसपी शर्माको कारण आफ्नो धन सम्पत्ति सिधिनुका साथै न्याय पाउन पाँच वर्ष कुर्न परेको गुनासो गर्नुभएको थियो। त्यसलगत्तै मध्य क्षेत्रीय प्रहरी कार्यालय हेडौडाका प्रहरी प्रमुख गणेश केसीले छानबिन समिति बनाएर घटनाको छानबिन गर्दै विभागिय कारवाही गर्न एक साताअघि प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्नुभएको थियो।

सुन्तली तामाङ हत्याकाण्डमा दोषी भएको भन्दै घटना घटेको साढे पाँच वर्षपछि प्रहरीले १२ जनालाई कारवाही प्रक्रिया अगाडि बढाएको छ। डीएसपी शर्मा हाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत थिए। गृहमन्त्रीको निर्देशन अनुसार डीएसपी शर्मालाई निलम्बन गर्ने निर्णय भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले नेपाल समाचारपत्रलाई बताउनुभयो।

पीडित सुन्तली तामाङले दोषी डीएसपी सञ्जिव शर्मा दासलाई निलम्ब गरेर आफूलाई न्याय दिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘साढे पाँच वर्षपछि छोरीको हत्यारा पत्ता लगाएर प्रहरीले मलाई न्याय दियो, अब डीएसपी शर्मालाई पनि कडा कारवाही गरेर हामीलाई न्याय प्रदान गरोस।’

प्रहरी प्रधानकार्यालयले डीएसपी दासलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको निर्णय बदर गरेर निलम्बन गर्न दिर्नेशन दिएपछि तामाङले गृहमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो– ‘गलत काम गर्नेले ढिलोचाँडो सजाय भोग्नुपर्छ, यो देशमा अब गरिबले पनि न्याय पाउँछन् भन्ने आशा पलाएको छ।’