दुई दिनको निगरानीपछि ४८ लाखको चरेश


 

नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडा–१० स्थित एक होटलबाट बुधबार बिहान सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेशसहित ७ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल हेटौंडाका प्रहरी नायब उपरीक्षक त्रिभुवन विष्टले विशेष सुराकीका आधारमा अवैध बजारमा करिब ४८ लाख मूल्यबराबरको ३० किलो चरेशसहित ७ जनालाई पक्राउ गरिएको बताए।

चरेशसहित पक्राउ पर्नेमा मकवानपुरको आग्रा घर भएका हीरा स्याङ्तान र विक्रम स्याङ्तान, रौतहट राजपुर फरदवा घर भएकी कमला खातुन, रौतहट बलराका सुरेज पटेल नाम बताउने रञ्जित कर्ण, भारत रक्सौलका मुकेश सर्राफ, भारत लखनउका निर्भय सिंह र भारत मोतीहारीकी कलावती देवी रहेको विष्टले जानकारी दिए। उनीहरूलाई चरेशसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरीमा बुझmाइएको छ।

प्रनाउ विष्टका अनुसार बिहान करिब ५ बजे अभियुक्तहरू मुख्य बजार क्षेत्रमा रहेको निलम होटलबाट चरेशसहित हेटौंडा–१० का रहेको रोशन होटल पुगेर त्यहाँबाट भाग्नुपूर्व सशस्त्रले भारतीय व्यापारी बसेर चरेश लुकाएको कोठा नम्बर ४१० लाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिने क्रममा मुख्य व्यापारी कर्ण ३ तलामाथिबाट जस्ताको छाना भएको घरमा हाम्फालेका थिए। हाम्फाल्दा उनको हात भाँच्चिएको सशस्त्र प्रहरीले जनाएको छ। जवान सुरेन्द्र शाही पनि हाम्फालेर कर्णलाई पक्राउ गरेका थिए।
अभियुक्तहरू बुधबार बसपार्कको होटलमा खाना खाएर राति करिब ११ बजे होटल पुगेका थिए र रातभर सशस्त्र प्रहरीले होटलपरिसर निगरानी गरेका थिए। बिहान करिब ५ बजे उक्त होटलमा नेपाली दुई अभियुक्तले चरेश पुर्याएपछि प्रहरीले पक्राउ गरेको थियो। उनीहरू पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका थिए।
नेपाली अभियुक्तहरूले प्रतिकिलो १ हजार रुपियाँ दिने बताएर ४ हजार मात्र दिइएकाले थप पैसा लिन आफूहरू रोशन होटलमा जानुपरेको प्रहरीसमक्ष बताएका छन्।

चरेश लिन भारतीय गाडी हेटौंडा आउँदै गरेको विश्वस्त स्रोतबाट जानकारी पाएपछि सशस्त्रले एकल प्रयास थालेको थियो। अभियुक्तहरूले शरीरमा बाँधेर हेटौंडा बसपार्कबाट बस चढी भैरहवा हुँदै चरेश भारत निकासी गर्ने योजनामा रहेको बताएका छन्।
घटनामा संलग्न यूपी–१८ एई ७४०५ नम्बर भारतीय मारुती ट्याक्सीसहित ३३ हजार ६ सय ९० भारतीय रुपियाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ। ट्याक्सी बुधबार बिहान करिब ११ बजे वीरगन्जबाट हेटौंडा आउँदा बाराको परवानीपुर, जितपुर, पथलैया र हेटौंडाको रातोमाटेलगायत नाकाबाट सादा पोसाकमा सशस्त्र प्रहरीले पछ्याएका थिए।