मनकामना मन्दिरको काम ८० प्रतिशत सकियो

0
Shares

 

सन्तोष अधिकारी, मनकामना गोरखा
रखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जीर्णाेद्धारको ८० प्रतिशत काम सम्पन्न भएको मनकामना जीर्णाेद्धार समितिले जनाएको छ। २०७२ असारदेखि मन्दिर भत्काएर जीर्णाेद्धारको काम शुरू भएको मनकामना मन्दिरको ८० प्रतिशत काम पूरा भएको जीर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए। पुरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको थियो। मनकामना मन्दिर भूकम्पका कारणले पनि थप जीर्ण भएको थियो।

‘अहिले मन्दिरको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ’, जीर्णाेद्धार समितिका अध्यक्ष श्रेष्ठले भने– ‘सबैभन्दा समस्या र धेरै समय लाग्ने गाह्रोको काम हो। त्यो पनि अब एक हप्ताभित्र सकिन्छ। त्यसपछि छानाको काम र गजुर हाल्ने काम मात्र बाँकी रहन्छ।’ मनकामना मन्दिरको छानो तामाको पातामा सुनको जलप लगाइन्छ। अब सुनको जलब लगाउने कामलाई धेरै समय खर्च हुनेछ। मन्दिरको सबै काम आगामी चैत्र सम्म सकिने श्रेष्ठले अनुमान गरे। अहिलेसम्म मन्दिरको तल्लो तलासम्मको काम सबै सकिएको र अब एक हप्तामा माथिल्लो तलाको काम सकेर अन्य काम गर्ने तयारी जीर्णाेद्धार समितिको छ।

मनकामना मन्दिर जीर्णाेद्धारका लागि नेपाल सरकारले ४ करोड र भक्तजनबाट करिब ७ करोड रुपियाँ संकलन भएको उनले बताए। मन्दिरका लागि आवश्यक काठ चितवनबाट ल्याइएको हो। केही काठ भने पुरानै समेत प्रयोग गरिएको छ। ‘कुनै कुराहरू केही मात्रामा पनि परिवर्तन नहोस् भनेर हामी निरन्तर लागिरहेका छौं’ –उनले भने। पुरातात्त्विक, ऐतिहासिक, धार्मिक महत्त्व बोकेको मन्दिर भएकाले पुरातत्त्व विभागका इन्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनर्निर्माण अघि बढाइएको छ। ०७४ सालभित्रमा मन्दिरको पुनर्निर्माण सक्ने र धर्मावलम्बीलाई पूजा, अर्चनाका लागि खुला गरिने लक्ष्यका साथ काम भइरहेको श्रेष्ठले बताए।

पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुला ठाउँमा मनकामनाको प्रतिमूर्ति स्थापना गरी भक्तजनले पूजाआजा गर्ने व्यवस्था जीर्णाेद्धार समितिले मिलाएको छ। २०६८ मा पुरातत्त्व विभागले गरेको अध्ययनअनुसार मन्दिर पुनर्निर्माणमा ८ करोड रुपियाँ लगानी गर्नुपर्ने बताइए पनि महँगी बढेकाले लागत खर्च पनि बढेको छ। मन्दिर निर्माण सक्न कम्तीमा १४ करोड रुपियाँ आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ। जीर्णाेद्धारका लागि अहिले पनि दिनदिनै मन्दिर आउने भक्तजनले मन्दिर निर्माणका लागि रकम सहयोग गरिरहेका छन्।