डब्ल्यूएफपीको बदमासी, भूकम्पपीडितलाई कुहिएको दाल चामल

0
Shares

 

सन्तोष अधिकारी, गोरखा
रखाको उत्तरी दुर्गम भेगमा विश्व खाद्य कार्यक्रमले कुहिएको दालचामल वितरण गर्न लागेको छ। डेढ महिनाअघि कामका लागि खाद्यन्न कार्यक्रमअन्तर्गत स्थानीयले सो ठाउँमा विभिन्न निर्माणका काम गरेका थिए। सोही कामबापत अहिले डब्ल्यूएफपीले चामल र दाल वितरण गर्न लागेको हो।

जिल्लाको सिर्दीबास र उहियामा सोमबार वितरण गरेको दालचामल कुहिएको परेको स्थानीयले बताएका छन्। सिर्दीबासमा गाउँमा वितरण भएको चामलभन्दा दाल धेरै बिग्रेको स्थानीयले बताए। ‘चामलभन्दा दाल त खतमै छ, पूरै ढुसी आएको छ’, वडा अध्यक्ष रामकुमार गुरुङले भने– ‘दाल त कुहिएर डल्ला–डल्ला परेको छ, उत्तिकै किरा परेको छ। यिनीहरूले ल्याउने बेलामा जोगाएर ल्याउन नसकेकाले गाउँलेलाई अहिले कुहिएको दालचामल वितरण गर्नुपर्यो। यिनीहरूले खच्चडमा बोकाएर ल्याउँदा सुरक्षित तबरले ल्याएको भए गाउँलेले केही नभएको खानेकुरा त पाउँथे।’

त्यस्तै उहियामा पनि डब्ल्यूएफपीले भने जति खाद्यन्न पनि दिएको छैन। ‘दालचामल वितरण शुरु गरेको छ’, खोर्लाका जितबहादुर गुरुङले भने– ‘यहाँका सबै घरलाई ७५ किलो चाम दिएको छ। ९ किलो भने दाल दिएको छ।’ डब्ल्यूएफपीले प्रत्येक घरलाई १ सय ५० केजी चामल र २७ केजी दाल दिने भने पनि ९ केजी दाल र ७५ केजी मात्र चामल वितरण गरेको हो।

डब्ल्यूएफपीले भूकम्पपीडितलाई पुनर्लाभ कार्यक्रमअन्तर्गत उहिया र सिर्दीबासमा कामका लागि खाद्यान्न कार्यक्रम गरेको थियो। गोरेटो गोरखासँगको स्थानीय साझेदारीमा बाटो निर्माण गरिएको थियो। स्थानीले ४० दिन काम गरेका थिए। डब्ल्यूएफपीले डेढ महिनाअघि वितरण गर्नुपर्ने खाद्यन्न यतिका ढिलो बाँड्दा पनि कुहिएको बाँडेको भन्दै स्थानीय रुष्ट भएका छन्। लामो समयपछि नबाँडेका कारण चामल र दाल कुहिएको हो। कामदारको नामको चामल र दाल कुहिएपछि फेरी काम गरे बराबरको दालचामल कहिले पाउने भन्ने चिन्ता स्थानीयलाई रहेको वडा अध्यक्ष गुरुङले गुनासो गरे। डब्ल्यूएफपीले दालचामल वितरण गर्ने भनेर स्थानीयले यस पटकको बर्खाका लागि खाद्यन्न आफ्नै तबरले जोहोसमेत गरेका थिएनन्। अहिले उत्तरी गोरखा जाने बाटो बिढीगण्डकी बढेर, पहिरो खस्ने गरेर बेला–बेलामा अवरोधसमेत हुँदै आइरहेको छ।