पुनर्निर्माणमा मधेसी मूलका कामदार बढी संलग्न

0
Shares

 

सन्तोष अधिकारी, गोरखा
जिल्लाबाट धेरै युवा कामका लागि विदेशी भूमिमा होमिने गरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमा गाउँमा दक्ष जनशक्ति र युवाको आवश्यकता भएको समयमा विदेशिने युवाको लर्को घट्न सकेको छैन।

जिल्ला प्रशासनमा राहदानीको फर्म भर्ने युवाहरूको संख्या पनि त्यत्ति नै छ। भूकम्पको केन्द्रविन्दु गोरखामा भूकम्पपछि घर पुनर्निर्माणमा दक्ष जनशक्तिको अभाव गाउँगाउँमा छ।

विभिन्न संघसंस्थाले घर बनाउन केही दिनको तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरेको बताउने गरे पनि उनीहरू केही दिनमा न दक्ष नै हुन्छन् न गाउँमा आवश्यक कामदार नै उत्पादन भएका छन्। तर, गोरखाको विभिन्न भूकम्पले ध्वस्त गाउँहरूमा घर निर्माणका लागि तराई–मधेसका कामदारहरू आउने क्रम बढेको छ।

पहाडका नागरिक कामका लागि विदेशी भूमिमा होमिइरहेका बेलामा मधेसका कामदारहरू भने पहाडमा घर बनाउन उकाली लागेका छन्।

विदेशको भन्दा राम्रो कमाई आफ्नै नेपालको पहाडतिर हुने भएपछि लामो समयदेखि बाराको कलैयाका धीरलाठाकुर गोरखामा काम गर्दै छन्। ‘यहाँ काम गर्दा कमाइ राम्रो नै छ’ ठाकुर भन्छन् ‘विदेश किन जाने यहाँ नै महिनाको ३० हजारभन्दा धेरै त खाएर र बसेर नै कमाइ हुन्छ। भूकम्प गएपछि यहाँ काम भ्याइनभ्याइ छ। पहिले बजारहरूमा मात्रै काम हुन्थ्यो। अहिले त गाउँमा पनि पक्की घर बनाउन हामीलाई बोलाउन थालिएको छ।’ ठाकुरकै नेतृत्वमा मात्र पनि गोरखामा १७ जनाको टोली घर बनाउने काममा खटिरहेको छ। तराई मूलका नागरिक विकास निर्माणका पूर्वाधार निर्माण, सडक निर्माण, जलविद्युत् कम्पनीको निर्माणलगायतका क्षेत्रमा धेरै रहेका छन्। तराई मूलका नागरिकलाई पहिला नै कामका लागि आएकाले सम्पर्क गरेर ल्याउने गरेका छन्।

तराई मूलका कामदार वर्षमा एकपटक अर्थात् पहाडी क्षेत्रमा काम रोकिएको समयमा मात्रै घर जाने गरेका छन्। दशैं तिहारको समयमा काम रोकिने भएकाले उनीहरू दशैंमा घर गएपछि छठ मनाएर पुनः काममा फर्किने गरेका छन्।

सदरमुकाममा र निर्माणदेखि गाउँमा सडक बनाउने काममासमेत तराईका मजदुर भेटिन्छन्। पहाडका कामदारहरू भने मधेसका कामदारको संख्याको तुलनामा केहि मात्र रहेका छन्। हागोरखामा करिब ४ हजारको हाराहारीमा तराईका मजदुरले काम गरिरहेका छन्। ‘तराईका मजदुर बिहानदेखि बेलुकासम्म काम गर्छन्, निर्माण ब्यवसायी चन्दनबाबु खत्री भन्छन् ‘उनीहरूको काम रहरलाग्दो हुने र कामसमेत छिटो सम्पन्न हुने भएकाले निर्माण व्यवसायीको रोजाइमा तराई मूलका कामदार रहेका छन्।’ दैनिक हजारदेखि १५ सयसम्म कमाइ हुने र भत्ता तथा ओभरटाइम पनि पाउने भएपछि उनीहरू निरन्तर काममा लागिरहने निर्माण व्यवसायीको भनाइ छ।