काश्मिरमा तीर्थयात्रीमाथि भएको हमलाको मोदीद्वारा निन्दा


 

नयाँदिल्ली, (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अमरनाथ यात्रीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्दै यस प्रकारको कायरतापूर्ण हमलाले भारतलाई झुकाउन नसक्ने बताए।

भारत प्रशासित काश्मिरको अनन्तनाग जिलामा भएको उक्त हमलामा सात जना तीर्थयात्रीको मृत्यु भएको यियो भने अन्य कयौं घाइते भएका थिए। प्रधानमन्त्री मोदीले ट्विटरमा लेखे– ‘जम्मु काश्मिरमा शान्तिपूर्ण अमरनाथ यात्रीमाथि भएको कायरतापूर्ण हमलाको पीडालाई शब्दले व्यक्त गर्न सकिँदैन। सबैतिरबाट यस प्रकारको हमलाको कडा निन्दा गर्नुपर्छ।’

मोदीले हमलामा मारिएकाको परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेका लागि प्रार्थना गरेका छन्। आफूले जम्मु काश्मिरका राज्यपाल र मुख्यमन्त्रीसँग वार्ता गरेको र हर सम्भव मद्दतका लागि आश्वासन दिएको मोदीले बताए।

यसैबीच गृहमन्त्री राजनाथ सिंहले पनि जम्मु काश्मिरकी मुख्यमन्त्री महबुबा मुफ्ति र राज्यपाल एनएन बोहरासँग कुरा गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ। उनले मुख्यमन्त्रीसँगको हमलाका बारेमा जानकारी लिएको र अधिकारीहरुलाई भविष्यमा पूर्ण सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ।

कांग्रेस र आम आदमी पार्टीले पनि आफ्नो आधिकारीक ट्विटर एकाउन्टमा हमलाको निन्दा गरेका छन्।