तातोपानीमा डुबेकी बालिकालाई आर्थिक सहयोग

0
Shares

 

काठमाडौं, (नेस)
तातो पानीले पोलेको उपचाररत काभ्रे महाभारत–८, घर्तिछाप मैना डाँडाकी साँढे दुई वर्षीया अस्मिता मोक्तानलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा रहेका घर्तिछापवासीहरुले संकलन गरेको रकम १ लाख २१ हजार ३ सय रुपियाँ सहयोगस्वरुप उपलब्ध गराएका छन्।

आर्थिक अवस्था निकै कमजोर रहेका पीडितका बाबु देवराज मोक्तानलाई संकलित सहयोग रकम उनी उपचाररत कीर्तिपुर अस्पतालमा नै पुगेर अस्मिता बचाउ अभियानका संयोजक अमर मगर (रिजन) ले हस्तान्तरण गरेका हुन्। सहयोग गरिएको उक्त रकम घर्तिछाप स्थायी घर भइ भारतमा रोजगारीमा रहेका भरत मगरले संकलन गरेको ५० हजार रुपियाँ र मलेसियामा रहेका घर्तिछाप कै दुर्गा तामाङले संकलन गरेको ७१ हजर ३ सय रुपियाँ अभियानका संयोजक मगरले हस्तान्तरण गरेका थिए।

देवराज तथा निरुता मोक्तानका छोरी साँढे दुई वर्षीय अस्मिता असार ११ गते खेल्ने क्रममा तातीरहेको पानीमा डुब्न पुगेकी थिइन्। असार १२ गते देखि कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका छन्। हालसम्म साँढे दुई लाख उपचारमा खर्च भइसकेको बाबु देवराजले बताए। महँगो उपचार खर्च थेग्न गाह्रो भए पछि उनले सहयोगका लागि हात फैलाएको देवराजले बताए। हालसम्म साथीभाइहरुले २५ हजार र पछिल्लो सहयोग १ लाख २१ हजार ३ सय सहयोग आफूले पाएको बताए।

दिन कै औषधिहरुमा मात्र २५ हजारको हाराहारीमा खर्च भइरहेको र प्रत्येक पाँच दिनमा अपरेसन गर्दा ३७ हजार खर्च गर्दै आएको बताउने देवराज महँगो उपचारखर्च धान्न धौधौ भएकाले सहयोगी हातहरुलाई सहयोगको याचना गर्दछन्। उनी भन्छन्–‘सहयोगी हातहरुको सहयोगबिना छोरीको उपचार गर्न सक्दिन। त्यसैले छारीको ज्यान बचाइदिनका लागि सबैमा अनुरोध गर्न चाहन्छु।’ सामान्य खेती किसानी गरेर जीविकोपार्जन गरिरहेका उनलाई सहयोग जुटाउन अस्मिता बचाउ अभियान चलाइएको संयोजक अमरले बताए।