दलहरु छलफलमा विषयवस्तु जहाँको त्यही

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
संविधान संशोधन विधेयक पारित गराउनका लागि सरकारले सक्रियता बढाएको छ। संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नुपर्ने भएकाले एमालेले पनि सहयोग गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नुपर्ने र त्यसपछि खुला छलफल गर्न सकिने जवाफ दिनुभएको थियो।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी समस्या समाधानको लागि तीन विकल्प प्रस्तुत गर्नुभएको छ। दलहरुको सहमतिमै संशोधन प्रस्ताव बनाउने र पास गर्ने, अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने र संशोधन प्रस्ताव होल्ड गर्ने तथा राजपालाई चुनावमा ल्याउन आवश्यक अन्य सबै माग पुरा गर्न प्रस्ताव अगाडि सार्नुभएको बताइएको छ। बैठकपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपासँग छलफल गरेर पुनः तीन दलको बैठक बस्ने सहमति भएको बताउनुभयो।

सविधान संशोधन विधेयक पारित गराउन सत्ता पक्षले गृहकार्य तीब्र बनाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ। राप्रपाले एमाले बिनाको संविधान संशोधन विधेयकको पक्षमा मतदान नगर्ने नीति लिएको छ।

मंगलवार सिंहदरवारस्थिति एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा अध्यक्ष थापाले सीमाकंन बाहेकका विषयलाई समेटेर ल्याए विधेयक पारित गर्न सकारात्मक रहेको बताउनुभएको थियो।

तर ओलीले भने तीन तहकै निर्वाचन सम्पन्न भएपछि मात्र संविधान संशोधन विधेयकको बारेमा छलफल गर्न सकिने बताउनुभएको थियो। बैठकपछि अध्यक्ष थापाले संविधान संशोधन प्रस्तावको पक्षमा उभिन आफूहरुलाई नैतिक बाँध्यता रहेको विषय राखेको बताउनुभयो। बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले तीन तहको निर्वाचनपछि मात्र संशोधनको विषयमा विचार गर्न थापालाई आग्रह गरेको बताउनुभयो।