लागु औषध ओसारपसारको अर्को भित्री खेल, मुखमा राखेर ब्राउनसुगर सप्लाई

0
Shares

नेपाल समाचारपत्र, बाँके । लागु औषध ब्राउनसुगर ‘सप्लाई’ गर्न अनेक तरिका अपनाउने गरिएको छ । सीमावर्ती भारतीय बजारमा सहजै पाइने ब्राउनसुगर नेपाल भित्र्याउन कारोबारीले विविध तरिका अपनाउने गरेका हुन् ।

नाकको प्याल, संवेदनशील अंग आसपास, मुख र चप्पलमा च्याप्नुका साथै साइकल, मोटरसाइकल, रिक्सा, टाँगाका सीट, घिउ, तेल, चामल, दाल, कपडाभित्र राखेर ब्राउनसुगर सप्लाई गरेको पाइएको छ ।

मुखमा हालेर ल्याएको तीन ग्राम र चप्पलले च्यापेर ल्याएको सय ग्राम ब्राउनसुगरसहित बाँके प्रहरीले चार जनालाई मुद्दा चलाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट एकजना रिक्सा चालकले मुखमा हालेर ब्राउनसुगर ल्याउदै गर्दा पक्राउ परेका हुन् । प्लाष्टिकले बाँधेको ब्राउनसुगरलाई रिक्साचालक भारत बहराइचका राजकुमार गुप्ताले मुखमा राखेर पान खाएकोजस्तो गरेर ल्याउदै थिए । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले रिक्साचालकको मुखबाट ब्राउनसुगर निकालेको थियो । रिक्सामा बसेका सुर्खेतका सुलभ विक र सन्तोष विकले किनेको ब्राउनसुगर रिक्साचालकले सप्लाई गरेका थिए ।

जमुनाहाले अर्का एक व्यक्तिलाई चप्पलमा लुकाएर ल्याएको सय ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । सुर्खेतकै रमेश थापाले चप्पलमा राखेर ब्राउनसुगर ल्याउदै थिए । थोरै मात्राको ठूलो मूल्य पर्ने भएकाले कारोबारीले विभिन्न उपाय अपनाएर ब्राउनसुगर सप्लाई गर्ने गर्दछन् ।

इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काले मान्छेको हुलिया हेर्ने वित्तिकै कस्तो हो भनेर पहिचान हुने गरेको बताउनुभयो । ‘लागु औषध कारोबारी त हेर्दाखेरी नै चिन्ने भइसकेका छौं, खड्काले भन्नुभयो, उनीहरुले जहाँसुकै लुकाएर ल्याउन् हामी पत्ता लगाउँछौं ।’ पारीपट्टी भरपर्दो सूचना स्रोतहरु बनाएकाले प्रहरीले पछिल्ला दिनमा लागु औषध कारोबारीलाई धमाधम नियन्त्रणमा लिइरहेको छ । भरपर्दो स्रोतकै कारण प्रहरी मलद्वार र नाकको प्वालमा राखेर ल्याएको ब्राउनसुगर निकाल्न सफल भएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका चारमध्ये तीन जना सुर्खेतका छन् । तीनै जना सुर्खेतबाट ब्राउनसुगर लिन आएका छन् । विकद्वयले तीन ग्राम ब्राउनसुगर ६ हजारमा किनेर ल्याएका थिए । सुर्खेत पु¥याएर कारोबार गर्ने योजनामा थिए । पछिल्ला दिनमा नेपालगञ्ज हुँदै ब्राउनसुगर सप्लाई गर्नेमा पहाडी जिल्लाका युवाहरु देखिएका छन् । शहर बजारमात्रै चर्को कारोबार हुँदै आएको ब्राउनसुगर पहाडी जिल्लाहरुमा सरेको छ । यसलाई चिन्ताको विषय मानिएको छ । गाउँघरतिर पनि लागु औषधको लत फैलिएको छ ।