“काठमाडौंको माटो नै परिवर्तन नगरे केही वर्षमा डेंगुमय”

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं

जिल्ला जनस्वास्थ्य कार्यालयले सम्भावित महामारी रोगको जोखिम न्युनीकरणका लागि आवश्यक तयारी भएको बताएको छ। टाइफाइडका लागि काठमाडौं विश्वकै क्यापिटल सिटीको रूपमा चिनिनु नराम्रो कुरा हो। सरुवा रोगबाट बच्नका लागि आवश्यक औषधि तथा रेपिड रेस्पोन्स टिम (आरआरटी) तयारी अवस्थामा रहेको जनाएको छ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं र सञ्जीवनी हेल्थ मिडिया प्रालिद्वारा आइतबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा काठमाडौंका जनस्वास्थ्य प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले सो जानकारी दिनुभएको हो।

श्रेष्ठले महामारीजन्य रोगहरु धेरै खालका हुने भन्दै उपत्यकामा झाडापखाला र हैजा रोगको जोखिम अरूभन्दा बढी भएको बताउनुभयो। उहँँले आफूहरु झाडापखाला र हैजा तथा अन्य सरुवा रोगको जोखिम न्यूनीकरणमा क्रियाशील रहेको बताउनुभयो। सरुवा रोगको मूल कारण मानिस, पानी, हात, झिँगा, खाना र काँचो सलाद नपखाली खानाले सरुवा रोग फैलिन्छ। काठमाडौं यतिबेला पानीविहीन प्रदूषित शहरका रूपमा परिणत भइसकेको छ।

सरकारले पानी र स्वास्थ्यका प्राथमिकतामा पार्नुपर्ने कुरामा जोड दिनुभयो। काठमाडांैमा बगिरहेको खोलाभित्र र बाहिरको माटोसमेत प्रदूषित भएकाले माटो नै परिवर्तन नगर्ने हो भने केही वर्षमा डेंगुमय हुन्छ। यतिमात्र नभई जिका भाइरसको सम्भावना काठमाडौंमा बढ्दो रहेको पनि बताउनुभयो।

हैजाको कारण जारको पानी

कार्यक्रममा बोल्दै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले उपत्यका महामारीजन्य रोगको उच्च जोखिम रहेको बताउनुभयो। उहाँले जुलाईदेखि सेप्टेम्बरसम्म हैजाका बिरामी बढी मात्रामा देखिने हुनाले पानी उमालेर खाएमा हैजा, झाडापखाला र आउ न्यून हुने बताउनुभयो।

विगत ५ वर्षको तुलनामा गतवर्ष काठमाडांैमा झाडापखालाका बिरामी काठमाडौंमा धेरै देखापरेको थियो। अब यसको कारण पत्ता लगाउन हैजाको प्रकृतिका बारेमा अनुसन्धान गर्नु जरुरी भएको बताउनुभयो। उहाँले रोगीको संख्यालाई टेकु अस्पतालमा मात्र हेरेर हुन्न पुरा काठमाडौंका निजी अस्पतालको पनि हेनुपर्छ भन्नुभयो। नेपालमा पानीकै कारण हैजा, आउँ र झाडापखाला फैलिएको छ।

अझ काठमाडौंमा वितरण हुने कतिपय ठाउँका जारका पानीकै कारण हैजा फैलिएको पाइएको छ। जारको पानी भन्दै ट्यांकरबाट ल्याएको पानी सीधै जारमा खन्याएर खाने गरेका कारण बिरामीहरु अस्पताल भर्ना हुने गरेको र पुनः अस्पतालमा निको भएर घर जान्छन् अनि फेरी झाडा–पखाला, आउँ लिएर आउने गरेको बताइएको छ। ‘अस्पतालमा तातोपानी र औषधि खान्छन् घर गएपछि जानाजान हैजाको जीवाणु मिसिएको पानी नउमाली खान्छन् र पुनः फर्कन्छन्’ –डा. पुन भन्नुहुन्छ। पानी उमालेर खाँदा स्वाद हुन्न भन्दै रोगका किटाणु सीधै घटाघट पिउने गरेका कारण वर्षेनि बिरामी बढ्ने गरेको उहाँ दाबी गर्नुहुन्छ।

नेपालमा हैजा फैलाउने मूल कारण जारको पानी भएको काठमाडौं जनस्वास्थ्यले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। खानेपानीले जिम्मेवारी लिनुपर्ने अवस्थामा जनस्वास्थ्यको थाप्लोमा दोष थोपरेर पन्छिनुभन्दा पनि अनुसन्धान गरी गलत काम गर्नेलाई कारबाही गर्नु जरुरी भएको डा. पुनले बताउनुभयो।

नेपालमा अनुसन्धान गरेर रोग पत्ता लगाएर औषधि दिनु नै उपचारको आधार हुनुपर्नेमा नेपालमा कुनै अनुसन्धान नै नहुने र अनुमानमा औषधि चलाउने कारणले पनि कतिपय अवस्थामा अकालमा बिरामीको ज्यान जाने गरेको उहाँको भनाइ रहेको छ। ल्याबको क्षमता बृद्धि गरी अनुसन्धानमा जोड दिनुपर्ने डा. पुनको ठम्याई छ।

काठमाडँंै महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले महानगर सरुवा रोगको जोखिममा रहेको भन्दै सम्भावित महामारी रोक्न विभिन्न निकायसँग सहकार्य गरेको बताउनुभयो। उहाँले स्वास्थ्य खानेपानी, शिक्षा, कृषि, वातावरणलगायतका मन्त्रालयसँग सहकार्य गरी अघि बढेको बताउनुभयो।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका फोकल पर्सन ध्रुव अधिकारीले जिल्लाले गरेको तयारी यथोचित रहेको बताउनुभयो।