इन्डोनेसियामा किशोर र वृद्धाबीच विवाह


जाकार्ता, (एजेन्सी)
इन्डोनेसियाको एकजना किशोरले सामाजिक संस्कार र कानुन मिच्दै एकजना सत्तरी वर्ष नाघेकी महिलासँग विवाह गरेका छन्। यस्तो अनौठो विवाहको भिडियो अनलाइनमार्फत सार्वजनिक भएपछि बल्ल यो घटना चर्चामा आएको हो। प्राविधिक रूपमा पनि ती १६ वर्षीय किशोर विवाहका लागि उपयुक्त छैन।

तर गाउँका अधिकारीहरूले तिनीहरूबीच बिनाविवाह दर्ता विवाह गर्न अनुमति दिएकोे थियो। दुबैले विवाह गर्ने अनुमति नदिइएको खण्डमा आत्महत्या गर्ने चेतावनी दिन थालेकाले तिनीहरू विवश भएको संचार माध्यमले जनाएको छ। इन्डोनेसियाको प्रचलित कानुनअनुसार कम्तिमा दुलाहाको उमेर १९ र दुलहीको १६ हुनुपर्दछ।

स्थानीय संचार माध्यमले ती किशोर औलाले थलिएको बेला वृद्धाले हेरचारह गर्ने क्रममा तिनीहरूबीच गहिरो प्रेम बसेको जनाएको छ। दक्षिणी सुमात्रा स्थित तिनीहरको गाउँका मुखिया सिक आनीले भनेका छन् , ‘केटोको उमेर नपुगेकाले हामीले तिनीहरूबीच गुपचुप विवाह गराउने निर्णय गरेका थियौं।

संभावित व्यभिचार पाप हुन नदिन २ जुलाईमा सो विवाह गराइएको हो।’

उनले सलामत नामक ती किशोरसंग विवाह गर्ने रोहाया नामकी महिलाको उमेर ७१ र ७५ बीचको हुनुपर्ने पनि बताएका छन्। सलामतको पिताको धेरै वर्षअघि निधन भएको थियो भने उनकी आमाले दोस्रो विवाह गरेको बताइएको छ।

रोहायाको यो तेस्रो विवाह भएको र उनका पहिलो विवाहबाट थुप्रै सन्तान रहेको पनि बुझिएको छ। पालेम्बांग स्थित विमिन क्राइसिस सेन्टरमा कार्यरत तथा बालविवाहको अन्त्यका लागि लागि परेकी अभियन्ता यन्नी इज्जीले या ेघटना निकै असामान्य भएको बीबीसीलाई बताएकी छिन्।

ती किशोरले आर्र्थिक तथा शारीरिक कारणले भन्दा उनले आफूलाई गर्ने माया र हेरचाहको कारण यो विवाह गरेको बताइएको छ।