फोहोर फाल्न गएका ट्याक्टर चालकलाई जग्गाधनीले कुटे, फोहोर फाल्नै समस्या

0
Shares

कुमार श्रेष्ठ, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखाका प्रमुख अशोक केसी शनिबार बिहान हस्याङ–फस्याङ गर्दै कार्यालयको प्रवेशद्वार अगाडि भेटिए । पसिनाले निथु्रक्क भिजेका केसी बिहानैदेखि फोहोर फाल्ने ठाउँ खोज्दै हिडेका थिए ।

‘तपाईले चिनेको या कतै खाल्डो जग्गा देख्नु भएको छ ?’ केसी भन्दै थिए, कही त्यस्तो जग्गा भेटिएन फोहोर कहाँ फाल्ने होला ? नेपालगञ्जको बुलबुलिया पछाडीको खाल्डो जमिन पुरिएपछि जग्गा धनीले त्यहाँ फोहोर फाल्न रोक लगाएकाले नगरपालिकाका कर्मचारी केसी यसरी छट्पटिएका हुन् । जग्गाधनीले फोहोर फाल्न रोक लगाउदा लगाउदै शुक्रबार बिहान नगरपालिकाका कर्मचारीले त्यही फोहोर फालेका थिए । नगरपालिकाको टोली फर्किएपछि निजी क्षेत्रका फोहोर संकलक ट्याक्टरसहित त्यहाँ पुग्दा कुटाई खाए । ट्याक्टर चालक बड्कु सिंह, सहयोगीहरु महेश बाल्मिकी र गुड्डु बाल्मिकीलाई जग्गा धनीले कुटेर पठाए । त्यसपछि फोहोर फाल्न नपाएपछि एक ट्याक्टर फोहोरसहित रातभरी नगरपालिका कार्यालयमा राखिएको थियो ।

नेपालगञ्ज नगरपालिकाले वर्षौदेखि बुलबुलियास्थित व्यक्तिको खाल्डो जग्गामा फोहोर फालेको थियो । खाल्डो पुरिएपछि जग्गाधनीले त्यहाँ फोहोर फाल्न रोक लगाए । त्यसपछि नगरपालिकाले त्यही नजिकको अर्को खाल्डो जग्गामा फोहोर फाल्न थाल्यो । त्यो पनि पुरिएपछि फोहोर फाल्न रोक लगाइयो । केही दिनदेखि त्यही आसपासमा लुकिछिपी फोहोर फालिएको थियो । शुक्रबार अपरान्हदेखि त्यो भण्डाफोर भएको छ ।

नेपालगञ्ज नगरपालिकाको आफ्नै डम्पिङसाइड नहुँदा समस्या झेलिरहेको छ । साविकको हिरमिनियामा डम्पिङसाइड बनाउने भनिएपनि काम द्रुतगतिमा अघि बढ्न सकेको छैन । अहिलेसम्म नेपालगञ्ज नगरपालिकाको साविकका १७ वटा वडाबाट मात्रै फोहोर संकलन हुन्छ । सरसफाई शाखाका प्रमुख केसीका अनुसार, ३२ टनजति दैनिक फोहोर संकलन हुन्छ । त्यसमा नगरपालिका र निजी क्षेत्रगरी २५ टनजति उही दिन व्यवस्थापन हुन्छ । बाँकी फोहोर सडकमै छरिन्छन् ।

नेपालगञ्ज नगरपालिकासँग चार र तीन वटा निजी क्षेत्रका ट्याक्टरले फोहोर संकलन गर्छन् । उही दिनको फोहोर त्यसै दिन व्यवस्थापन हुन नसक्दा नेपालगञ्जले ‘फोहोरी शहर’ को उपमा पाएको छ ।

शनिबार नै दिउँसो ‘आज फोहोर कहाँ फालियो त ? भनेर फोनमा सोध्दा केसीले मुश्किलले बुलबुलियामै अर्को खाल्डो जग्गामा मिलाएको बताउनुभयो । केही दिनका लागि स्थानीय पप्पु कुरैसीको जग्गामा फोहोर फाल्ने व्यवस्थापन मिलाएको केसीले जानकारी दिनुभयो । ‘बिहानैदेखि दौड्दा दौडीमा थिए, मुश्किलले कुरैसीले फोहोर फाल्न दिए, केसीले भन्नुभयो, केही दिनका लागि ढुक्क भयो ।’ नगरपालिका कर्मचारीले फोहोर फाल्नका लागि कुरैसीसँग मौखिक सहमति गरेका छन् ।

चुनावका बेला नेपालगञ्जलाई ‘सफा’ शहर बनाउने सबै पार्टीको एजेन्डा थियो । नवनिर्वाचित मेयर डा. धवल शमशेर राणाले कार्यालय प्रवेश गर्दा देखि नै फोहोर व्यवस्थापनमा चासो देखाएपनि समस्या तत्काल समाधान हुने छाँट देखिएको छैन । ‘फोहोर फाल्ने आफ्नो ठाउँ छैन, अर्काको जग्गामा कहिले रोक लगाउने हो थाहै हुँदैन, कर्मचारीहरु भन्छन् ।

दुई ट्याक्टर हस्तान्तरण

यसैबीच, राप्रपा, बाँकेको अगुवाईमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई दुई वटा ट्याक्टर मिलेको छ ।

पर्सा जिल्लाका सांसद राजकुमार अग्रवालको संसद विकास कोषको रकमले दुई वटा ट्याक्टर किनेर राप्रपा, बाँकेले नेपालगञ्ज नगरपालिकालाई दिएको हो । १८ लाख ८० हजारका दुई वटा ट्याक्टरको साँचो राप्रपा, बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो ।

सांसद अग्रवालको संसद विकास कोषबाट ५० लाख रुपैया बाँकेमा ल्याएको राप्रपाले ट्याक्टरका अलावा भेरी अञ्चल अस्पतालमा ३० लाख बराबरको महिला र पुरुष कुरुवा कक्ष निर्माण गरिरहेको छ । ‘हामीले अर्को जिल्लाको सांसदको रकम ल्याएर विकास निर्माणमा खर्चेका छौं, राप्रपाका युवा नेता ऋषि देवकोटाले भन्नुभयो । बाँकेमा राप्रपाबाट चुनिएका सांसद छैनन् ।

नगरपालिकाका कार्यकारी अधिकृत कुँवरले दुई वटा ट्याक्टर उपलब्ध भएपछि फोहोर व्यवस्थापनमा अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । नवनिर्वाचित मेयर डा. धवल शमशेर राणा र उपमेयर उमा थापामगरको उपस्थितिमा ट्याक्टरको साँचो हस्तान्तरण गरिएको थियो ।