विवादले रोकियो पार्टी दर्ता


 

बीपी साह, काठमाडौं
राष्ट्रिय जनता पार्टी नेपालभित्र महेन्द्रराय यादव र अनिल झाबीचको विवादले पार्टी दर्ता प्रक्रिया अवरुद्ध भएको छ। दुई नेताबीच भएको विवादका कारण बुधबार हुने भनिएको पार्टी दर्ता प्रक्रिया लम्बिएको छ।

महेन्द्र यादवले एकीकृत पार्टीको विधानमा स्व. गजेन्द्रनारायण सिंह र बाबराम जनम तिवारीको नाम राख्न नमिल्ने बताएका छन्। उनले गजेन्द्रनारायण सिंहका विषयमा पार्टीको विधानमा उल्लेख भए कार्ल माक्स र अन्य कम्युनिस्ट नेताहरूको इतिहास पनि उल्लेख गर्नुपर्ने बताउँदै आएका छन्।

बुधबारको बैठकमा पनि यादवले सिंह र तिवारीको नाम राख्न अस्वीकार गरेपछि अनिल झा आक्रामक बनेका थिए। नेता झाले मधेस केन्द्रित पार्टीले गजेन्द्रनारायण सिंहको मूल्यमान्यता बिर्सन नहुने बताउँदै सिंह र तिवारीको नाम पार्टीको विधानमा राख्नै पर्ने अडान लिएका छन्। यसअघिको बैठकमा पनि यस विषयमा विवाद हुँदै आएको थियो। यसकारण पार्टी एकीकृत भए पनि निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै नेता झाले भन्नुभयो– ‘मधेसवादीका महानेता एवं नेपालमा संघीयतालाई अगाडि बढाउने स्व. गजेन्द्रनारायण सिंहलाई देशविदेशले स्वीकार गरिसकेको छ। यस अवस्थामा हाम्रै पार्टीमा उहाँको सम्मान नहुनु दुखद हुनेछ। त्यसकारण म मधेसको इतिहास बिर्सिने पक्षमा छैन।’

झाले राजपाको मुख्य आधार मधेस भएकाले मधेसको इतिहास र मधेस राजनीतिलाई बिर्सिन नहुने बताउँदै आफूहरू पहिचानको संघर्ष गर्दै आएको तर आफ्नै पहिचान बिर्सिने काममा सहमत नहुने बताउनुभयो।

यादवले विधानको विषयमा प्रतिक्रिया दिन चाहनुभएन। उहाँले विधानमाथि छलफल जारी रहेको बताउनुभयो। आफूले कुनै विरोध नगरेको बताउँदै छलफलको क्रममा रहेको यादवले बताउनुभयो।

राजपाका स्रोतका अनुसार पार्टी दर्ताका लागि सबै दस्तावेजहरू तयार भइसकेको थियो। नेता शरतसिंह भण्डारी भारत जाने भएकाले उहाँले हस्ताक्षर पनि गर्नुभएको थियो। तर विधानमा मधेस राजनीतिको इतिहास नभेटेपछि अनिल झाले हस्ताक्षर गर्नुभएन। जसकारण पार्टी दर्ता रोकियो।