प्रमलाई भेटेपछि ठाकुर दूतावासमा


 

काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरसँग आग्रह गर्नुभएको छ।

मंगलबार प्रधानमन्त्री देउवा र ठाकुरबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले अब निर्वाचनको मतगणना सकिएलगतै संविधान संशोधनलगायतका विषयमा पहल थाल्ने बताउनुभएको थियो। छलफलमा प्रधानमन्त्री देउवाले राजपासँग भएको सहमति आफ्नो सरकारले पालना गर्ने बताउँदै तत्कालै समर्थन फिर्ता नलिन आग्रह गर्नुभएको थियो। छलफलपछि राजपाका प्रवक्ता कृष्णा सिंहले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्री र ठाकुरबीचको छलफलमा सरकारलाई दिइएको समर्थन फिर्ता र राजपाको मागको विषयमा छलफल भएको हो।

ठाकुरजीले संविधान संशोधनसहितका मागहरू पूरा गर्ने प्रक्रिया अगाडि नबढाइए समर्थन फिर्ता लिने चेतावनी दिएर आउनुभएको हो।’

प्रधानमन्त्री देउवासँग भेटेलगतै ठाकुर भारतीय दूतावासमा छलफल गर्न पुगेको जनाइएको छ। सरकारलाई दिइएको समर्थनकै विषयमा दूतावासमा पनि छलफल भएको बुझिएको छ।

तर भारतीय दूतावासमा भएको छलफलका बारे राजपाका नेताहरूले अनभिज्ञता प्रकट गरेका छन्। राजपाका महासचिव केशव झाले त्यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो।

स्रोतका अनुसार सरकारलाई दिइएको समर्थन फिर्ता नलिन भारतीय दुतावासले पनि आग्रह गरेको छ। उक्त छलफलमा राजपाका अन्सन्तुष्ट नेताहरूको विषयमा पनि चर्चा भएको बुझिएको छ।

राजपाका अध्यक्ष मण्डलको बैठकबाट बाहिरिएर संयोजक ठाकुर प्रधानमन्त्री र दूतावास पुग्नुभएको थियो। त्यसपछि पुनः बैठकमा सहभागी हुनुभएको थियो।
राजपाको अध्यक्ष मण्डलको बैठक मंगलबार अबेर रातिसम्म जारी रहेको थियो।
मंगलबार अबेर रातिसम्म राजपाको पार्टी दर्ताका लागि आवश्यक विधानलाई अन्तिम रुप दिने तयारी भइरहेको राजपाका नेता राजकिशोर यादवले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले बिहीबारसम्म पार्टी दर्ता हुन सक्ने बताउँदै विधानलाई अन्तिम रुप दिन छलफल भइरहेको बताउनुभयो।

पार्टीभित्रका असन्तुष्टिका बारे राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले बाहिर आएको चर्चा हल्ला मात्र भएको बताउनुभयो। उहाँले केही नेताहरूले असन्तुष्टि व्यक्त गरेपनि छलफल भइरहेको बताउनुभयो।