उपत्यकामा घटे पन्छी, पछिल्लो गणनामा ७२ प्रजातिका ६ हजार ६ सय ३६ पन्छी फेला परेका छन्।


 

टीका बन्धन, काठमाडौं
काठमाडौं उपत्यकाका रैथाने र आगन्तुक पन्छीको चहल–पहल घटेको पाइएको छ। उपत्यका केन्द्रित अध्ययन⁄अवलोकनले करिब १ दर्जन पन्छीको संख्या मात्र सन्तोषजनक देखाएको छ।

घर काग, परेवा, घर भगेरा, वस्तु वकुल्ला, घर गौंथली, डाङ्ग्रे रुपी, रुख भगेरा, जुरेली, वन रुपी, कालो चिल जस्ता पन्छीको संख्या तुलनात्मक रुपमा राम्रो रहे पनि अन्यको चहल–पहल बाक्लो छैन। नेपाल पन्छी संरक्षण संघ (वीसीएन)को अगुवाइमा भर्खरै सम्पन्न गृष्मकालीन गणनामा उपत्यकामा विभिन्न ७२ प्रजातिका ६ हजार ६ सय ३६ पन्छी फेला परेका थिए।

गृष्मकालीन गणनामा उल्लेखित १० प्रजातिको संख्या ५ हजार ७ सय ४६ रहेको संघले जनाएको छ। त्यसै गरी गत हिउँद याममा उपत्यकामा विभिन्न ९३ प्रजातिका ७ हजार ८ सय पन्छी भेटिएका थिए। हिउँदको गणनाका क्रममा भेटिएका पन्छीकै प्रजातिको चहल–पहल गर्मी याममा पनि दोहोरिएको संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्र बाबुमान प्रधानले बताउनुभयो।

उहाँका अनुसार उपत्यकाका ३ वटै जिल्लाका मध्य शहरी, अर्ध शहरी र काँठ क्षेत्रका २ दर्जनभन्दा बढी स्थानमा एक हप्ता लामो गणना केन्द्रित थियो। बढ्दो शहरीकरणका कारण पन्छीको चहल–पहल घट्दै गएको बताउँदै श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिलेको गणना पर्याप्त र पूर्ण होइन, तर नमूना सर्वेक्षणलाई नियाल्दा सहरी क्षेत्रका पन्छीको संख्या सन्तोषजनक छैन।’ यस्तो सर्वेक्षण गत वर्षबाट शुरु भएकाले उपत्यकामा कति वर्षमा कति प्रजातिको संख्या घट्यो भनेर अहिले नै यकिन गर्न नसकिने उहाँको भनाइ छ।

बढ्दो आधुनिकता र शहरीकरणसँगै वासस्थानमा आएको प्रभाव, आहराको समस्या, ध्वनि र वातावरण प्रदूषणजस्ता कारणले सहरी क्षेत्रमा पन्छीको चहल–पहल घट्दै गएको विज्ञहरूको ठहर छ। त्यस्तै कारणले मानव वस्तीमा घुलमिल हुने, पुराना शैलीका घरमा गुड लगाउने भगेरा, परेवा, गौंथली, जुरेली जस्ता पन्छीको संख्या पातलिँदै गएको विज्ञहरूको अनुमान छ। मिलचरा, थाप्रे, ढुकुर, पात सिउने फिस्टा, कर्रा सुगा, गोमायु महाचिलको संख्या वर्षेनी पातलिँदै गएको पन्छीविद्हरू बताउँछन्।

हिउँदे आगन्तुक गोमायु महाचिलको प्रजाति विश्वमै संकटासन्न सूचीमा सूचीकृत भइसकेको छ भने कर्रा सुगा खतरानजिक सूचीमा रहेको छ। तर शहरी क्षेत्रमा बढ्दो बस्ती बिस्तारसँगै भगेरा, गौंथलीजस्ता घरमा गुड लगाउने पन्छीको चहल–पहल अर्धशहरी क्षेत्रमा स्थानान्तरण भइरहेको वीसीएनका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरी बताउनुहुन्छ।

वीसीएनले गत वर्ष गरेको गणनाअनुसार उपत्यकामा हिउँदयाममा ८५ र गर्मीयामको शुरुआतमा ६३ प्रजाति पन्छीका प्रजाति फेला परेका थिए। यसपटकको हिउँदको गणनाकार्यमा ३५ जना स्वयंसेवी चरा अवलोकनकर्ता खटिएका थिए भने गृष्मकालीन गणनामा २५ जनाको टोली थियो।