म्यादी प्रहरीको हेलिकप्टरमा उद्धार


रुकुम, १४ असार । झाडापखालाका कारण गम्भीर बिरामी भएकी एक म्यादी प्रहरीलाई आज नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

सिस्ने गाउँपालिका– १ पाखापानी मतदान केन्द्रमा खटिएकी म्यादी प्रहरी २३ वर्षीया सीता बिसीलाई सेनाको हेलिकप्टरमा उद्धार गरी सदरमुकाम मुसिकोट ल्याइएको छ ।

चौरजहारी नगरपालिका– ६ घर भएकी बिसी पखालाबाट केही दिनदेखि सिकिस्त थिइन । बोल्नै नसक्ने अवस्थाकी बिसीलाई सुर्खेतबाट हवाईगस्तीमा रुकुम आएको सेनाको हेलिकप्टरले उद्धार गरी उपचारका लागि मुसिकोटस्थित जिल्ला अस्पताल ल्याएको प्रहरी नायव उपरीक्षक अङकुर जिसीले जानकारी दिनुभयो । रासस