यमनमा हैजाको प्रकोप, १ हजार ३ सयको मृत्यु


 

न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र संघले युद्धग्रस्त देश यमनमा फैलिरहेको हैजाको प्रकोपलाई लिएर चेतावनी जारी गरेको छ। यसलाई विश्वमा कुनै पनि ठाउँमा भइरहेको हैजा प्रकोपको डरलाग्दो महामारी भएको बताइएको छ।

युनिसेफ र विश्व स्वास्थ्य संगठनले यमनमा हैजाबाट प्रभावित संदिग्ध संक्रमित संख्या दुई लाखभन्दा धेरै भइसकेको जनाएको छ। यमनमा अहिलेसम्म यस रोगका कारण १ हजार ३ सयको ज्यान गइसकेको छ। यसमा एक चौथाइ बच्चा छन्। मर्नेको संख्या बढ्ने आशंका गरिएको छ।

संयुक्त राष्ट्र संघका दुबै संस्थाले हैजाको प्रकोपलाई रोक्न हरसम्भव प्रयास गरिरहेका छन्।राष्ट्र संघले भनेको छ–‘हामी विश्वमा हैजाको प्रकोपको सबैभन्दा ठूलो महामारीको सामना गरिरहेका छौं। मात्र दुई महिनामा यस युद्धग्रस्त देशको हरेक प्रान्तमा हैजा फैलिसकेको छ।

यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेना र हुती विद्रोहीबीच विगत दुई वर्षदेखि युद्ध चलिरहेको छ। यस युद्धले देशमा स्वास्थ्य, जल र स्वच्छता प्रणाली नष्ट भइरहेको छ।

देशको राजधानी सानालगायत देशको धेरैजसो हिस्सामा विद्रोहीहरूको कब्जा रहेको छ। अस्पतालमा भिड बढ्नु र खाद्यान्न कमीका कारण यमनका नागरिक विशेष गरी बच्चाहरू हैजाको चेपटामा परेका छन्।

राष्ट्र संघले रेपिड रिस्पोन्स टिम तैनाथ गर्ने तयारी भइहरेको जनाएको छ। उक्त टोलीले घर घरमा गएर मानिसहरूलाई पानी सफा राख्ने र पिउने पानी जम्मा गरि आफूलाई हैजाबाट बचाउने बारेमा बताउनेछन्।

हैजा एक प्रकारको गम्भिर झाडापखालाको संक्रमण हो जुन दूषित खाना खाना र पानी पिउनाले वायब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण हुन्छ।
यस रोगबाट ग्रसित विमारीमा विशेष केही लक्षण देखिँदैन तर गम्भिर अवस्थाका रोगीको उपचार नभएमा केही घण्टामा मृत्यु हुन सक्छ।

युद्धका कारण अहिलेसमम यमनमा २ करोड ८० लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता छ र करिब ७० लाख नागरिक भोकमरीको संघारमा छन्।