एकै घरका दुई भाइ एकै पदका उम्मेदवार

0
Shares

 

रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङको फुङलिङ नगरपालिकाको एक वडामा एकै परिवारका दाजुभाइ नै फरक पार्टीबाट अध्यक्षका उम्मेदवार बनेपछि आफन्तहरू अन्योलमा परेका छन्। फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका हुन्। रामप्रसाद माइला र युवराज कान्छा हुन्।

एकै घरका छोरा फरक पार्टीबाट एउटै पदमा उम्मेदवार बनेपछि कसलाई भोट दिने आफूहरू अन्योलमा परेको आफन्त खेम बरालले बताए। नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको दुवै दाजुभाइको तर्क रहेको छ।

यता आफ्ना दुवै छोरा वडाध्यक्षका लागि फरकफरक पार्टीबाट उम्मेदवार बनेकाले आफन्तलाई भन्दा बढी समस्या आमा मायादेवीलाई परेको छ। ‘उठे पनि एउटै पदमा नउठ भन्दा मानेनन् भोट कसलाई हाल्ने आफन्तले त बरु छान्लान् म कसलाई छानूँ र भोट हालूँ’ –वृद्ध आमा मायादेवीले भनिन्।

‘अरू उम्मेदवारका आमा छोरा उम्मेदवार बन्यो भनेर खुसी छन्, आफ्नै दुवै छोरा अध्यक्षकै उम्मेदवार हुँदा पनि पीडा बढी हुँदो रहेछ’ –उनले गुनासो गरिन्। ‘छोराहरूले जसलाई म पर्छ दोधारमा नपरी माइलालाई भए पनि कान्छालाई भए पनि भोट हाल्नु भन्छन् म त कसैलाई नहाली बसौँ कि भन्ने सोचमा पो छु’ –मायादेवीले भनिन्। अहिले दुवै छोरा चुनावी प्रचारप्रसारमा व्यस्त छन्।