परराष्ट्रमन्त्री भारत जाने



 

काठमाडौं, (नेस)
उप–प्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आसन्न स्थानीय तहको निर्वाचनलगत्तै भारत भ्रमणमा जाने तयारीमा जुट्नुभएको छ।

भारतसँगको कूटनीतिक सम्बन्ध विस्तार र संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सिल सदस्यमा नेपालले दिएको उम्दवारीको पक्षमा समर्थन जुटाउन मन्त्री महरा भारत भ्रमणको तयारीमा जुट्नुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। मन्त्री महरा अहिले निर्वाचनको प्रचारलगायतको सिलसिलामा गृहजिल्ला रोल्पा पुग्नुभएको छ।

बुधबारको निर्वाचन पश्चात् यही साता दिल्लीको तयारीका लागि काठमाडौं फर्किने मन्त्रालयका एक अधिकारीले बताए। नयाँ सरकार गठनसँगै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाले लगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका लागि भारतीय राजदूत मञ्जिम सिंह पुरी मार्फत् महरालाई भारत भ्रमणको औपचारिक निम्तो पठाइसक्नुभएको छ। महरा परराष्ट्र मन्त्री नियुक्त भएको तेस्रो दिन स्वराजले टेलिफोनमार्फत् बधाई दिँदै भ्रमणको मौखिक निम्तो दिनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्