तल्लो भागमा “आचार संहिता पालना कमजोर”


 

नेपाल समाचारपत्र
काठमाडौं
दोस्रो चरणको निर्वाचनको दौरान निर्वाचन आचार संहिताको कडाईका साथ पालना गर्ने गराउने कार्य कमजोर देखिएको एक अध्ययनले देखाएको छ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोग), आम निर्वाचन पर्यवेक्षक समिति (जियोक) र शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) छुट्टाछुट्टै गरेको निर्वाचनपूर्वको पर्यवेक्षणको प्रतिवेदनले सो अवस्था देखाएको हो।

‘निर्वाचन प्रचारप्रसारमा बर्जित गरिएका सवारीसाधन, प्रचारप्रसार सामग्री तथा प्रचारशैलीसमेत संयमित हुन सकेको छैन।’ प्रतिवेदन प्रस्तुत गर्दै नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले आइतबार आयोजित पत्रकार भेटघाटमा भन्नुभयो।

बालबालिकाको प्रयोग तथा वाचा–कसम खुवाउने, आर्थिक चुनौती भोगिरहेका तथा सुकुम्बासी टोलहरूमा झूटो आश्वासन र सपना बाँड्ने कार्यले स्वच्छ निर्वाचनको मापदण्ड धमिलो भएको पनि श्रेष्ठले बताउनुभयो। श्रेष्ठले निर्वाचन पर्यवेक्षण गर्न आफ्नो सस्थाबाट परिचय भएका २ हजार २ सय र परिचयपत्र नपाएकाहरूलाई स्वयंसेवकका रूपमा २ हजार ५ सय पर्यवेक्षक खटाएको जानकारी दिनुभयो।

‘विभिन्न जिल्लामा कार्यकताहरूलाई रक्सी खुवाउने, भोज–भतेर गर्ने, सित्तैमा पेट्रोल बाँड्ने कार्य तीव्र गतिमा भएको भन्दै यसको अनुमगन कसले गर्ने ?’ –पत्रकार भेटघाटमा संकल्पका अध्यक्ष लिली थापाले भन्नुभयो। अनुगमनका क्रममा देखेको, सुनेको दृश्यको वर्णन गर्दै अध्यक्ष थापाले भन्नुभयो– ‘थुप्रै महिलाहरूले रोपाइँको समयमा मतदान गर्न नजाने भनेको पाइयो, कतिपय उम्मेदवारहरू पैसा नभएकोले चुनाव हार्नेमा निराश देखिएका थिए। कतिपय उम्मेदवार भने कार्यकताहरूलाई दैनिक रक्सी खुवाउन विभिन्न डिस्टिलरीमा रक्सी सहयोग मागिरहेका थिए।’

जियोकका अध्यक्ष हिमालयशमशेर राणाले खेतीपातीको अत्यन्त व्यस्त र चाडपर्वको समयलाई बेवास्ता गर्दै सरकारले निर्वाचनको मिति तोकेको बताउँदै यसविपरीत आयोगले अडान लिन नसकेको बताउनुभयो।

जियोकका महासचिव कृष्णमान प्रधानले मतदाता शिक्षा प्रभावकारी नभएको उल्लेख गर्दै यसले गर्दा बदर मतपत्रको सख्या अझै बढ्न सक्ने सम्भावना व्यक्त गर्नुभयो। जियोकले तीनवटै प्रदेशका १२ जिल्लामा ३ सय ५० जना पर्यवेक्षक र संकल्पले २२ जिल्लालाई समेटिएर निर्वाचन पर्यवेक्षण गर्ने जनाएको छ।