प्रधानाध्यापकमाथि गोली प्रहार

0
Shares

 

धनुषा, (नेस)
विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आइतबार गोली प्रहार भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो।

शर्माको गालामा गोली लागेको छ। उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ।

जनकपुर उप–महानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो। गोलीप्रहारबाट गम्भीर घाइते भएका प्रअ शर्मालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।