निर्वाचन आचारसंहिता देखाउने दाँत मात्रै, चार सचिवको सरुवा

0
Shares

 

नेपाल समाचारपत्र, काठमाडौं
स्थानीय तहको निर्वाचनको मिति एक साता बाँकी रहेकै बेला सरकारले केही सचिवको सरुवा गरेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरुवा गरेको हो। निर्वाचन आयोग दोस्रो चरणको निर्वाचनको प्रक्रियामा जुटिरहेका बेला आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा हुनुलाई प्रशासनवृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ। निर्वाचनको मिति एक साता पनि बाँकी नरहेको बेला सरुवा गर्नुलाई राम्रो सन्देश नजाने कर्मचारी वृत्तमा चर्चा छ।

निर्वाचन प्रचारप्रसारका क्रममा भड्किलो प्रचारप्रसार र आर्थिक चलखेललाई रोक्नुपर्ने हिसाबले सचिव मैनालीले आर्थिक सदाचार र मितव्ययितालाई जोड दिँदै आउनुभएको थियो। यही क्रममा सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको हो। निर्वाचनको मुखमै तपाईंको सरुवा भयो। यसलाई कसरी लिनुभएको छ? भन्ने नेपाल समाचारपत्रको जिज्ञाशामा सचिव मैनालीले भन्नुभयो– ‘चुनाव प्रचारप्रसारका क्रममा उम्मेदवार र दलका कार्यकर्ताहरूलाई वित्तीय अनुशासनमा बाँध्न खोज्नेक्रममा सरुवा भयो।’

सचिव मैनालीले आज शुक्रबार रमानापत्र लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जाने जानकारी दिनुभयो। सचिव मैनालीको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर दाहाललाई कामु सचिवको जिम्मेवारी दिएर पठाइएको छ। न्यौपानेले यसअघि पनि आयोगमा रहेर काम गरिसक्नुभएको छ।
अर्थ मन्त्रालयका राजस्वतर्फका सचिव राजन खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानमा सरुवा गरिएको छ। क्षेत्रीय प्रशासन कार्यालय दीपायलका शिशिर ढुंगानालाई अर्थ मन्त्रालयको राजस्वमा ल्याइएको छ।

यसैबीच सचिव सरुवाका लागि निर्वाचन आयोगको अनुमति सरकारले मागेको र आयोगले सहमति दिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।