हेटौंडाको प्लास्टिकबाट २४ लाख लिटर इन्धन


 

नेपाल समाचारपत्र
हेटौंडा
स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लास्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ। प्रयोग भएर फालिएका रंग छापिएका, चाउचाउ, लेज, गुट्खा, सिमेन्ट र रेनकोटलगायत प्लास्टिकबाट गाडी कुदाउने डिजल उत्पादन गर्न सकिन्छ। प्लास्टिकबाट उत्पादित डिजलको प्रयोगबाट बिहीबार हेटौंडामा आगो बालियो, सर्वसाधारण चकित परे।

यसको गुणस्तरीयताबारे हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पनि पुष्टि गरेको छ। प्लास्टिक डिजलका लागि धेरै प्रभावकारी कच्चापदार्थ हो। प्लास्टिक प्रयोगबाट डिजल उत्पादन गरेर इन्धनको अभावलाई धेरै हदसम्म कम गर्न सकिने देखिएको छ।

हेटौंडामा दिनहुँ उत्पादन भइरहेको प्लास्टिकबाट इन्धन उत्पादन गर्न सकिने भएको छ। हेटौंडामा प्रतिदिन करिब ९ हजार २ सय ६७ केजी प्लास्टिक उत्पादन हुने गरेको छ। हेटौंडा उपमहानगरपालिका र नाष्टको संयुक्त आयोजनामा ‘एक नवीनतम् प्रविधिमार्फत् स्थानीय तहको फोहोरमैला व्यवस्थापनका अवसर’ विषयक नगरस्तरीय कार्यशालामा यस्तो जानकारी दिइएको हो।
आफैं पेट्रोकेमिकल रहेको प्लास्टिकबाट उत्पादन भएको डिजल प्रशोधनपछि सवारी साधनमा प्रयोग गर्न मिल्ने अवस्था रहने नाष्टका वरिष्ठ वैज्ञानिक रवीन्द्र ढकालले बताए। हेटौंडामा उत्पादन हुने फोहोरबाट एक वर्षमा २३ लाख ६७ हजार ९ सय ४६ लिटर इन्धन उत्पादन गर्न मिल्छ। यसबाट वार्षिक करिब ७ करोड १० लाख ३८ हजार आम्दानी हुने उनले बताए।

यस्ता प्लाटिकबाट डिजलसरह गाडीहरू राम्रैसँग कुद्नसक्ने र इञ्जिनमा पनि कुनै खराबी नआउने दाबी गरिएको छ। मेसिन प्रयोग गरी हेटौंडामा करिब ७ सय ग्राम प्लास्टिकबाट करिब आधा लिटर डिजल निकालिएको नयाँ आविष्कार देखेर सबै अचम्ममा परे।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडी, हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डे, हेटौंडाका वडा अध्यक्षहरू, उपमहानगरपालिका प्रवन्धकहरू बीके महर्जन, शंकर उपाध्याय र भीम तिमल्सिना तथा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपाने लगायतको उपस्थिति थियो।

प्लास्टिकबाट इन्धन निकाल्न नगरपालिकाले चासो दिएको छ। कुहिने र नकुहिने फोहोर घरैबाट छुट्याएर संकलन हुँदै आएको हेटौंडामा यो अभियान प्रभावकारी देखिने महाशाखा प्रबन्धक महर्जनले बताए।