बलात्कारका अभियुक्त पक्राउ


 

लक्ष्मीकुमार साह, महोत्तरी
महोत्तरीको औरही गाउँपालिका–२ फूलबारीयाकी २० वर्षीया सौन्दर्यकर्मी (ब्युटिसियन) लाई गत जेठ २८ गते बलात्कार गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ।

जिल्लाको औरही गाउँपालिका २ मा जेठ २८ गते एक सौन्दर्यकर्मी (ब्युटिसियन) लाई बलात्कार गरी फरार रहेका औरही २ बस्ने सुनिल साहलाई सोही दिन पक्राउ गरी उनीमाथि जवर्जस्तीकरणीको मुद्दा दर्ता गरेर कारवाही शुरु गरेको थियो।

अभियुक्त सुनिल साहलाई पक्राउ गरेपछि उनको वयानको आधारमा तथा खोजतलासको क्रममा औरही गाउँपालिका २ का अनिकेत यादव, सोही ठाउँ बस्ने वर्ष रमेश पंजियार तथा सुरेश यादवलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। पीडितले जेठ २९ गते दिएको जाहेरीको आधार आरोपितविरुद्ध प्रहरीले बलात्कारको मुद्दा दर्ता गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले महोत्तरीमा बराबर हत्या, बलात्कारजस्ता घटनाले व्यापक रुप लिँदै गएकोले यसलाई न्यूनीकरण गर्नका लागि लागि परेर गरेको प्रयास सफल भएको बताउनुहँुदै यसमा अपराध अनुसन्धान केन्द्रीय कार्यालय, अञ्चल प्रहरी कार्यालय, सर्लाही र महोत्तरीका प्रहरीहरूको संयुक्त टिम परिचालन भएर छानविन गरिएको स्पष्ट गर्नुभयो।

सौन्दर्य व्यवसायी राधा (नाम परिवर्तित) लाई जेठ २८ गते पसल बन्द गरी घर जाने क्रममा औरहीदेखि फुलबरिया गाउँतर्फ जाने बाटोसंगैको खेतमा बाटो ढुकेर बसेका अभियुक्तहरूले सामूहिक बलात्कार गरेका थिए।

महिलाले हारगुहार गरेपछि स्थानीयहरू पुग्दा अभियुक्तहरू भागेका थिए। पछि प्रहरीले सोही राति महिलालाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाएको र घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका सुनिल साहलाई पक्राउ गरेपछि स्थानीयले ढुंगामुढासमेत गरेका थिए।