मतदाता शिक्षा ‘प्रभावकारी’ होला ?



 

सुनील महर्जन, काठमाडौं
पहिलो चरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा बदर मत संख्या घटाउने प्रतिबद्धताका साथ निर्वाचन आयोगले मतदाता शिक्षालाई तीव्रता दिएको छ।

दोस्रो चरणको निर्वाचनको मिति असार १४ नजिकिँदै जाँदा आयोगले तीनवटै प्रदेशमा मतदाता शिक्षालाई तीव्रता दिएको हो। पहिलो चरणमा धेरै मतपत्र बदर भएको घटनाबाट पाठ सिक्दै आयोगले दोस्रो चरणको निर्वाचनका क्रममा मत बदर हुने सम्भावनालाई न्यूनीकरण गर्ने हिसाबले मतदाता शिक्षालाई तीव्रता दिएको थियो।

पहिलो चरणको निर्वाचनमा राजधानी काठमाडौंलगायत शहरी क्षेत्रमा अधिक संख्यामा मतपत्र बदर भएको थियो। मतपत्रको आकार निकै ठूलो, सातवटै मतपत्रमा चिह्न लगाउनुपर्ने, मतपत्र पटइउने बारे मतदातमा रहेको अन्योल र क्रम भोटिङ, चुनावी तालमेल गर्दा दोस्रो चरणको निर्वाचनमा पनि मतपत्र बदर हुन सक्ने अनुमान गर्दै आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाएको हो। पहिलो चरणको निर्वाचनमा १२ प्रतिशतको हाराहारीमा मतपत्र बदर भएको आयोगको प्रारम्भिक अनुमान रहेको छ।

यद्यपि आयोगले कुल बदर मत संख्या सार्वजनिक गरेको छैन। पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षालाई सोचेअनुरुप प्रभावकारी बनाउन नसकिएको र चुनाव हुने नहुनेका आशंका र छोटो समयमा तयारी गर्नुपर्ने भएकाले मतदाता शिक्षा प्रभावकारी नभएको आयोगले पनि स्वीकार गरेको थियो। ‘दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई तुलनात्मक रुपमा प्रभावकारी बनाएका छौं।’ –प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो।

मतदाता शिक्षालाई प्रभावकारी बनाउने आयोगको नीतिअनुसार, तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। प्रदेश नम्बर १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब ८ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेपालमा बोलिने राष्ट्र भाषाहरूमध्ये १६ राष्ट्र भाषामा मतदाता शिक्षा सामग्री तयार गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार मतदान केन्द्रमा सक्कलै मतपत्र अवलोकलन गर्ने व्यवस्थासमेत मिलाइएको र विभिन्न स्थानीय भाषामा तयार पारिएका मतदाता शिक्षा सामग्रीहरू वितरण गर्दै आइरहेको छ।

विभिन्न कलाकारहरूबाट निर्वाचन सामग्रीहरू तयार गरी स्थानीय रेडियो, टेलिभिजनबाट प्रसारण गर्ने कामसमेत हुँदै आएको छ। केही जिल्लामा सडक नाटक र नमूना मतदान कार्यक्रमसमेत सञ्चालन गरिएको छ। साथै महिला, दलित वा अल्पसङ्ख्यकको प्रतिनिधित्वलाई प्रोत्साहन गर्न विशेष मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ।

दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुनेछ। सो निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिनेछन्। यसका लागि देशभर ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहने छन्। मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने छन्।

 

प्रतिक्रिया दिनुहोस्