भूकम्पपीडितलाई दिइने ट्याक्सी, राजधानीमा छिर्न नदिइने


 

नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौं महानगपालिकाले भूकम्पपीडितको नाममा उपलब्ध गराउने ट्याक्सी उपत्यकामा सञ्चालन गर्न नदिन चेतावनी दिएको छ। उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थापन, टा«फिक जाम, शहरी प्रदूषण र पार्किङ क्षेत्रको अभाव भइरहेको अवस्थामा ती ट्याक्सीलाई उपत्यकामा सञ्चालन अनुमति नदिन आग्रह गरेको हो। कामपाका मेयर विद्यासुन्दर शाक्यले शहरी यातायात व्यवस्थापनका लागि यस्तो निर्णय गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामीले भूकम्पपीडितलाई ट्याक्सी दिएको बिरोध गरेका होइनौ, उपत्यकामा नचलाउन मात्र आग्रह गरेका हौं। सरकारले भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई १ हजार ५ सय वटा ट्याक्सी दिने निर्णय गरेको छ। सोका लागि बुधबार ५ सय पीडितलाई नम्बर प्रदान गरिएको छ।

कामपाले यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखालगायत ससोकारवालालाई पत्र पठाएर उपत्यकामा सञ्चालन गर्न नदिन आग्रह गर्न लागेको हो। त्यस्तै उपत्यकामा सञ्चालन ह्ुँदै आएका भाडाका ट्याक्सी मिटरमा गुड्नुपर्नेमा त्यसको पालना नगरेको जनाउँदै कामपाले त्यस्ता ट्याक्सीलाई कडाभन्दा कडा कारवाही गर्न सरकार र प्रहरीलाई पत्र पठाउने निर्णय गरेको छ। पुराना ट्याक्सी त्यसमा पनि मिटर नचलाउने यस्तो मनपरी कार्यलाई रोक्न कडा नियमनको माग गरेका छाँैं’ –मेयर शाक्यले भन्नुभयो। उहाँले शहरमा ठूला बसलाई प्राथमिकता दिन लागेको जानकारी दिनुभयो।

हाल काठमाडौं उपत्यकामा करिब १० हजार ट्याक्सी सञ्चालनमा छन्। कामपा नगरपालिकाको दोस्रो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा कामपाले हालसम्म गरेको काम सन्तोषजनक रहेको दाबी गरेको छ। हामीले फोहोर व्यवस्थापन शुरु गरिसकेका छौं, सडकका खाल्डाखुल्डी पुरिसकेका छौं, नेपाल भाषालाई कामकाजीको भाषा बनाइसकेका छौं, वृद्धभत्ता बढाएका छौं–२० दिनको प्रगति सुनाउँदै मेयर शाक्यले भन्नुभयो।

कामपाले सूर्योदय अगावै फोहोर व्यवस्थापन गर्ने जनाए तापनि सो काम गर्न सकेको छैन। कर्मचारीको अभावका कारण कामपाले सूर्योदय अगावै फोहोर व्यवस्थापन गर्न नसकिएको कामपाको भनाइ छ। तर मेयर शाक्यले निजी क्षेत्रको सहयोग लिएर भए पनि फोहोर व्यवस्थापन गर्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘सोचेजति प्रगति नभएको होला तर काम शुरु गरिसकेका छौं।

यसैबीच कामपाको मंगलबार सम्पन्न बैठकले सांगठनिक संरचनाको पुनर्संरचना गर्न विज्ञ टोली गठन गरी दुई महिनाभित्र कर्मचारीको सर्वेक्षण गरी दरबन्दी र कार्यविवरणसहितको संगठन र विकास प्रतिवेदन तयार गर्ने,८८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई उपलब्ध गराउँदै आएको १० हजार रुपियाँ भत्ता बृद्धि गरी १२ हजार बनाउने, ४ जना प्राविधिकलाई सातौं तहमा बढुवा गरी उपनिर्देशक बनाउने, जनप्रतिनिधिहरूको सेवा तलब पारिश्रमिक सुविधा शीर्षक बजेटमा फरक नपर्ने गरी ३५ लाख रुपियाँ उपलब्ध गर्ने, निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न विभिन्न वडाको तत्काल विकासका लागि २२ लाख २५ हजार रुपियाँ विनियोजन गर्ने निर्णय गरेको छ।

हामी जनताले देख्ने गरी काम गर्न आएका हौं, केही दिनमै देखाउनेछौं बैठकको निर्णय सुनाउने क्रममा मेयर शाक्यले भन्नुभयो– ‘तपाईंहरूले पनि महानगरको विकासका बारेमा लेख्न पाउनुहुनेछ।’