रसुवामा तेस्रो पटक भौगर्भिक अध्ययन सुरु


नेपाल समचारपत्र, रसुवा । रसुवामा तेस्रो पटक भौगर्भिक अध्ययन सुरु गरिएको छ । भूकम्पका कारण पहिरोको जोखिममा रहेको जिल्लाको ५१ स्थानमा भौगर्भिक अध्ययन सुरु गरिएको हो ।

१२ नम्वर समुहले स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन र चिलिमेको १३ स्थान, ७ नम्वर समुहले धैबुङ, भोर्ले, सरमथली, ठुलोगाउँ र लहरेपौवाको २२ स्थान र ३ नम्वर समुहले धुन्चे, राम्चे हाकु, यार्सा र डाडाँगाउँको १६ स्थानमा भौगर्भिक अध्ययन गरिरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाले जनाएको छ ।

जिल्लाको ५१ स्थानमा १४ दिनसम्म अध्ययन गरिने र अध्ययन पश्चात स्याटेलाइट तथा गुगल अर्थको प्रयोग गरेर सुरक्षित रहे वा नरहेको पत्ता लगाइने भौगर्भिक अध्ययनमा खटिनुभएका लेख प्रसाद भट्टले जानकारी दिनुभयो ।

२०७२ बैसाख १२ गते गएको विनासकारी भूकम्पका कारण जिल्लाको विभिन्न ठाउँ पहिरोको जोखिममा रहेको वा नरहेको अध्ययन गरिएको यो तेस्रो पटक हो ।

भूकम्प गएको केही समयपछि पहिलो अध्ययन गरिएको वताइएपनि गाउँमा भूगर्भविद् नपुगेको स्थानीयले वताएका थिए ।

गत पुषमा दोस्रो पटक अध्ययन गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका १० जनाको टोलीले तीन समूह बनाएर अध्ययन गरिएको थियो ।

पहिलो समूहले टिमुरे, लाङटाङ, बृद्धिम, चिलिमेको १४ स्थान, दोस्रो समूहले ठूलोगाँउ, लहरेपौवा, भोर्ले, धैबुङ र सरमथलीको १९ स्थान र तेस्रो समूहले धुन्चे, राम्चे, यार्सा र हाकुको १७ स्थानको अध्ययन गरेको थियो । दोस्रो पटक गरिएको अध्ययनबाट जिल्लाको ११ वटा वस्ती उच्च जोखिममा परेको वताइएको थियो ।

अध्ययन अनुसार साविकको ७ वटा गाविसको १८ वटा वस्तीमा गरिएको अध्ययनबाट ११ वटा वस्ती आंसिक तथा पुर्ण जोखिममा परेको र त्यो वस्तीमा वसोवास गर्ने एक सय ८७ घरधुरी जोखिममा परेको प्रतिवेदन आएको छ ।