ट्राफिक क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन


 

काठमाडौँ, ७ असार । व्यवस्थापिका–संसद्, उद्योग, वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ताहित उपसमितिले ट्राफिक क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँको सडकलाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारेमा आज उपसमितिको सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले सार्वजनिक सडक, ट्राफिक सङ्केत, जेब्रा क्रसिङलगायतका समस्यामा आम जनताले भोग्नुपरेको सास्ती तत्काल हटाउन निर्देशन दिनुभएको हो ।

संयोजक ठकुरीले सवारीसाधन व्यवस्थित तवरले सञ्चालन गर्न, पार्किङको व्यवस्थापन गर्न, साना सवारीसाधन आयातलाई निरुत्साहित गर्न, ट्राफिक सङ्केतको दुरुस्त सञ्चालन गर्न तथा आवश्यक जनशक्ति परिपूर्ति तथा परिचालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसअन्तर्गतका निकाय तथा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिनुभएको हो ।

बैठकमा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले सडक सुरक्षाबारे मन्त्रालय गम्भीर रहेको बताउँदै काठमाडौँमा देखिएको ट्राफिक समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय यातायात नीतिको ड्राफ्ट तयार भइसकेको भन्दै यो ड्राफ्ट सञ्चालनमा आएपछि समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा देखिएका सानातिना खाल्डा पुर्नेदेखि फुटपाथ हटाउनेजस्ता काम महानगरपालिकाले गरिरहेको बताउँदै यसलाई अझै व्यवस्थित गर्न सबैसँग सहकार्य गर्ने बताउनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधन अत्यधिकमात्रामा रहेको काठमाडौँमा प्रदूषण जाँच गर्ने प्रविधि चार वटामात्र हुँदा सवारी साधनको प्रदूषण अत्याधिक भएको बताउनुभयो । उहाँले जनशक्ति र प्रविधि थोरै भएका कारण सवारी प्रदूषण जाँच गर्न समस्या परेको स्वीकार गर्नुभयो ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले विभागले एक हप्ताभित्र काठमाडौँको ८०० स्थानमा जेब्राक्रसिङ निर्माण गर्न लागेको बताउनुभयो । उहाँले मुख्य चोकमा निर्माण गर्न लागेको ट्राफिक बत्ती निर्माणको जिम्मा विदेशी कम्पनीलाई दिए पनि महँगो भएका कारण काम गर्न नसकेको जानकारी दिनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक बत्ती, जथाभावी फुटपाथमा पसल, जेब्रा क्रसिङ निर्माण हुन नसक्नु, मेलम्ची आयोजना निर्माणका क्रममा परेका खाल्डो लगायतले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको भन्दै यसबारे सम्बन्धित निकायले सोच्नु जरुरी रहेको बताउनुभयो ।

बैठकमा सांसद ध्यानगोविन्द रञ्जीत, रामवीर मानन्धर, राज्यलक्ष्मी श्रेष्ठ, दिलमान पाख्रिन लगायतले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई तत्काल समाधान गरी उपभोक्तालाई सुखी जीवनयापन गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो । रासस