उनीहरुलाई शनिबार पनि बिदा छैन

0
Shares

हेटौंडा,(नेस)।
मकवानपुर सदरमुकाम हेटौंडाका मेयर हरिबहादुर महतको गृह वडा ५ नम्बरलाई ‘निकृष्ट बाल श्रममुक्त वडा’ घोषणा गरिरहँदा मंगलबार मकवानपुरको कैलाश गाउँका करिब १२ वर्षीय क्षितिज लामा भने पढाइ खर्च जुटाउन ‘बाल श्रम’ गर्ने तयारीमा थिए ।

उनी शनिबारको पर्खाइमा थिए । तर, उनको शनिबार पर्खाइ बिदा मनाउन भने होइन रहेछ । उनी गाउँकै कमला माविको कक्षा–२ मा पढ्छन् ।

उनी हरेक शनिबार ५ बजेतिर उठ्छन् । बेलुका तयार पारेर राखेको खाजाको पोको लिएर घरबाट खोलाको बगर पुग्छन् ।

त्यहाँ उनको ‘क्लासवर्क’ जस्तै काम बालुवा निकालेर थुपार्नु हो । बालुवाको थुप्रो ठूलो भएपछि जालीमा छान्नु उनको ‘होमवर्क’ जस्तै नियमित काम हो ।

साँझ नपरेसम्म उनी बालुवा निकाल्ने र छान्ने काम गरिरहन्छन् । पाका मान्छेजस्तै लगातार काममा व्यस्त उनलाई जसरी पनि पढाइ खर्च जुटाउनुछ ।

चर्को घाममा बालुवा छान्नुको झन्झट अनि निकाल्ने कष्टको उनलाई कुनै पर्वाह छैन । उनको यो मेहनत देख्दा अरु तीनछक पर्छन् ।

‘घरमा कमाइ राम्रो छैन, आफ्नो खर्च आफैं जुटाउनुपर्छ, दुःख नगरे स्कुलमा क्लासवर्क गर्न पाइँदैन,’ उनले भने– कापीकलम नभए कक्षामा बस्न पाइँदैन, यसबाट आएको पैसाले कापीकलम किन्छु । उनले बुबाआमाको कमाइले घर चलाउन मुस्किल भएकाले पैसा कमाउन आएको बताए ।

आफूहरुले समूह बनाएर बालुवा चाल्ने गरेको र एक बोराको ३० रुपियाँ कमाउने गरेको कमला माविको कक्षा–२ मै अध्ययनरत् प्रदीप योञ्जनले बताए । दिनमा ४÷५ बोरा बालुवा चाल्ने गरेको उनीहरुको भनाइ छ ।

उनले सगर्व भने– अहिलेसम्म ५ हजारजति त कमाइसकें होला, कमाएको पैसाले कापीकलम किन्छु, अनि स्कुल जान्छु । उनका बाबुआमाले गरेको खेतीपातीबाट आएको खर्चले विद्यालय खर्च नभ्याउने भएपछि आफैं बालुवा छानेर खर्च जुटाइरहेको उनले बताए ।

उनले बालबालिकाले छानेको बालुवा ‘भरपर्दो नभएको’ भन्दै कम मूल्य पाउने गरेको दुःखेसो सुनाए ।

प्रत्येक शनिबार त्यहाँ खेला किनारपिच्छे बालुवा चालिरहेका दर्जनौं बालबालिका भेटिन्छन् । बालुवाबाट आएको कमाइले प्रायः बालबालिकाले अध्ययन खर्च जुटाइरहेको शिक्षकहरु बताउँछन् ।

मकवानपुरको बिकट कैलाश गाउँपालिकाको जलुके र खोलाखर्कका स्कुले बालबालिकाले बालुवा चालेर कपीकलमको जोहो गर्ने गरेका हुन् । बालबालिकाहरु बिदाको दिन नियमितरुपमा बालुवा चाल्न जलुके र खोलाखर्कको सिमानामा रहेको खोलामा धाउने गरेका छन् ।

छ्याङ्दुङमा रहेको कमला मावि र जलुकेमा रहेको साङ्गे छ्योलिङ आधारभूत विद्यालयका १५ देखि २० विद्यार्थी यसरी बालुवा चाल्न जाने गरेको स्थानीय एक बृद्धले बताए ।

घरायसी आर्थिक अवस्था कमजोर भएकाले त्यस क्षेत्रका केही बालबालिका विद्यालय नगएर बालुवा चाल्ने काममा जाने गरेको स्थानीयको भनाइ छ । खोलखर्क पुगेका जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले विद्यालय नगएर बालुवा चालिरहेका बालबालिकालाई विद्यालय जान सुझाव दिएका थिए ।

स्थानीय अगुवाहरुलाई बालबालिकालाई अध्ययनमा लगाउन थापाले आग्रह गरे । बालबालिकाका नाममा ‘डलर खेती’ गर्ने संघसंस्था दुर्गममा पुग्ने नगरेको शिक्षकको गुनासो छ ।

तामाङ, मगर र गुरुङ समुदायको बसोबास रहेको त्यस क्षेत्रमा धेरै बालबालिका विद्यालय नगएर घरायसी काम, खेतीपाती र मजदुरीमा जाने गरेको एक शिक्षकले बताए ।