कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

0
Shares

 

काठमाडौं, (नेस)
नेपाली कांग्रेसले १४ गते हुने स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन ३५ जिल्लामा ४२ जना केन्द्रीय प्रतिनिधि खटाएको छ। साथै प्रदेश नं. १, ५ र ७ को निर्वाचनको अनुगमन गर्नका लागि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रमा एक ‘निर्वाचन अनुगमन कार्यदल’समेत गठन गरिएको छ।

पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको कांग्रेसले दोस्रो चरणको निर्वाचनबाट पहिलो नम्बरमा आउने दाबी गरिरहेको छ। केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिले निर्वाचन हुने जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाउँदै निर्वाचन अनुगमन कार्यदल गठन गरेको हो। निर्वाचनको अनुगमन गर्नका लागि गठित कार्यदलमा केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती सदस्य रहेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार केन्द्रीय निर्वाचन परिचालन समितिले असार १४ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधिका रूपमा कांग्रेस नेताहरू भीमसेनदास प्रधानलाई ताप्लेजुङ, अर्जुनप्रसाद जोशीलाई पाँचथर, श्यामकुमार घिमिरेलाई इलाम, डा. रामशरण महतलाई झापा, प्रकाशमान सिंह र जीवन परियारलाई संखुवासभा, जगदीशनरसिंह केसीलाई तेह्रथुम र बहादुरसिंह लामा तामाङलाई भोजपुर खटाइएको छ। त्यसै गरी मोहनबहादुर बस्नेतलाई धनकुटा, विमलेन्द्र निधिलाई मोरङ, अर्जुननरसिंह केसीलाई सुनसरी, यज्ञबहादुर थापालाई सोलुखुम्बु र राजेन्द्रकुमार केसीलाई खोटाङ खटाइएको छ।

जिल्लामा खटाइएका नेताहरूमा उदयशमशेर राणा रोल्पा, रामचन्द्र पोखरेल र खड्गबहादुर बस्याल प्युठान, सुरेन्द्रराज पाण्डे दाङ, हृदयराम थानी बाँके, प्रकाश शर्मा पौडेल ओखलढुंगा, तेजुलाल चौधरी उदयपुर छन्। बर्दियामा भने चित्रलेखा यादव, उमाकान्त चौधरी र रेशमबहादुर बानियाँ तीन जना नेताहरूलाई पठाइएको छ।

आफ्ना उमेद्वारहरूलाई विजयी गराउन ईन्द्र बानियाँलाई बाजुरा र चन्द्रबहादुर कुँवरलाई गुल्मी पठाइएको छ। कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार नेताहरू धु्रव वाग्लेलाई पाल्पा, कमला पन्तलाई अर्घाखाँची, रोमी गौचन थकाली र रंजीत कर्णलाई नवलपरासी, महेन्द्र यादव र शंकर भण्डारीलाई रुपन्देही, धनराज गुरुङ र रामकृष्ण यादवलाई कपिलवस्तु र गोविन्द भट्टराईलाई रुकुम खटाइएको छ। १४ गते हुने चुनवाका लागि गगन थापा दार्चुला,
तप्तबहादुर विष्ट बैतडी, शेषनाथ अधिकारी डडेल्धुरा, जीवनबहादुर शाही कञ्चनपुर, मोहनप्रसाद बराल अछाम, प्रदीप पौडेल बझाङ, चन्द्र महर्जन डोटी र रत्न शेरचनलाई कैलाली खटाइएको छ।