च्यातिएका मतपत्र सात दिनभित्र बुझाउन आदेश

0
Shares

 

सुनील महर्जन, काठमाडौं
सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको च्यातिएको मतपत्रसहित सक्कल कागज सात दिनभित्र पेश गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मंगलबार सो आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को ९० मतपत्र च्यातिएपछि आयोगले सो वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो। त्यसको विरुद्धमा परेको रिट निवेदनबारे दुवै पक्षको बहसपछि अदालतले सो आदेश दिएको थियो।

अदालतले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने नेकपा माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र आयोगको निर्णयको सक्कल प्रति झिकाउन आदेश दिएको थियो। अदालतले मत पत्र च्यातिएको विषयमा सुरक्षा निकायले तयार पारेको प्रतिवेदन पनि उपलब्ध गराउन आदेश दिएको छ। वैशाख ३१ गते मतदान भएको भरतपुर महानगरका दुई वडाको मतगणना बाँकी हुँदा मतपत्र च्यातिएको थियो। मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो।

मंगलबार रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टीकाराम भट्टराईले बहस गर्नुभएको थियो। निर्वाचन आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्नुभएको थियो।

पहिलो चरणमा चुनाव भएको भरतपुर महानगरपालिकाको मतगणना चलिरहेका बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो। आयोगको टोलीले छानविन गर्दा ९० वटा मतपत्र च्यातिएको भेटिएपछि जेठ २० गते भरतपुरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

यसको विरुद्धमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उभिँदै आएको छ। १९ नम्बर वडाको १८ सय मत गनिसक्दा देवी ज्ञवालीको अग्रता नघट्नुले रेणु दाहाल जित्ने सम्भावना कम भएपछि योजना बनाएर मतपत्र च्यातिएको र त्यसमा मुख्य निर्वाचन अधिकृत पनि सहभागी बनेको आरोप एमालेले लगाउँदै आएको छ।

आयोगको सो निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले जेठ २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उहाँहरूको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो।

भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसका पार्वती शाह उम्मेदवार हुनुहुन्छ। एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा रहनुभएको थियो। २० नम्बर वडाको मतगणना बाँकी रहँदा १९ नम्बरको आधाभन्दा बढी गणना भइसकेपछि मतपत्र च्यातिएको थियो।
पछिल्लो गणनामा एमालेका देवी ज्ञवाली माओवादीका रेणु दाहालभन्दा ७ सय ८४ मतले अगाडि रहनुभएको थियो।