१४ जनाको मनोनयन फिर्ता, चार दलित महिला निर्विरोध निर्वाचित


 

नेपाल समाचारपत्र
ताप्लेजुङ
ताप्लेजुङमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १४ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्।

फुङलिङ नगरपालिका वडा ८ का राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्य उम्मेदवार बेदना गुरुङ र तेजबहादुर सुनुवार तथा वडा ११ का खगेन्द्र भट्टराईले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै सिरीजंघा गाउँपालिकामा ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

जसमा नेकपा माओवादी केन्द्रवाट वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार जयप्रकाश राई, साथै सोही वडाबाट खुला वडा सदस्यमा नेपाली कांगे्रस लयकुमार श्रेष्ठ र असलबहादुर राई र सोही वडाका महिला सदस्य चन्द्रमाया राईले पनि उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत अशोकुमार बस्नेतले बताउनुभयो।

साथै सोही गाउँपालिकाको वडा नं ७ वाट नेकपा एमालेकोतर्फवाट खुला सदस्यका उम्मेदवार देउमाया कामीलेसमेत उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत राजेन्द्र बुढाथोकीले जानकारी दिनुभयो। उता आठराई त्रिवेणी गाउँपालिकाका वडा नम्बर १ का खुला सदस्यका स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर शेर्पालेसमेत उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत ईन्द्र गौतमले जानकारी दिनुभयो।

यसै गरी मिक्वा खोला गाउँपालिकामा एक जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ। जसमा वडा नम्बर ३ का राप्रपा का वडा सदस्यका उम्मेदवार मिङ्मा शेर्पाले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत चैतन्य निरौलाले जानकारी दिनुयो। यसैबीच फक्ताङलुङ गाउँपालिका र सिरिजंघा गाउँपालिकामा दुई जनाले उम्मेदावारी फिर्ता लिएका छन्।

निर्वाचन चिन्ह प्रदान
स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई मंगलबार ताप्लेजुङमा निर्वाचन चिन्ह प्रदान गरिएको छ। ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङलिङ नगरपालिकामा मेयरका लागि दुई स्वतन्त्र उम्मेदवारी परेको थियो।

मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका खगेन्द्र पोर्तेल विश्वकर्मालाई क्यामेरा र म·ोल नेसनल अर्गनाइजेसनका छविन्द्र गुरुङलाई व्याडमिन्टनको कर्क चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो। यसै गरी मिक्वाखोला गाउँपालिकामा दुई स्वतन्त्र उम्मेदवारले पनि चुनाव चिन्ह प्राप्त गरेका छन्। जसमा होम प्रकास लिम्बूले क्यामेरा र महेन्द्रकुमार कटुवालले बाघ चुनाव चिन्ह पाएका छन्। लिम्बू सो गाउँपालिकाका अध्यक्षका उम्मेदवार हुन भने कटुवाल वडा नं २ का खुला वडा सदस्यका उम्मेदवार हुन्।

उता मैवाखोला गाउँपालिकाका वडा नं ५ का स्वतन्त्र उम्मेदवार रामबहादुर बस्नेतले ठड्याइएको औँला चुनाव चिन्ह प्राप्त गरेको निर्वाचन अधिकृत खडानन्द पराजुलीले जानकारी दिनुभयो। यसैबीच फक्ताङलुङ र सिरिजंघा गाउँपालिकामा एक एकजनाको उम्मेदवारी बदर भएको छ।

चार दलित महिला सदस्य निर्विरोध
ताप्लेजुङमा नेपाली कांग्रेसका तीन जना र माओवादी केन्द्रकी एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्।

निर्विरोध निर्वाचित हुनेमा नेपाली कांग्रेसबाट फक्ताङ्लुङ गाउँपालिका–६ कि दलित महिला सदस्य उमा लाम्गादे र सोही गाउँपालिका बाटै माओवादी केन्द्रकी दलित महिला सदस्य माल्वीका दर्जी निर्वीरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ। साथै मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजंघा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी रहेका छन्। उनीहरू नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए।

चारओटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो।विजयी शुरुआतसँगै ती वडामा दलका कार्यकर्ताले विजयोत्सव मनाउन थालेका छन्।