वीरेन्द्रसँग वार्ता हुने बेला दरबार हत्याकाण्डः प्रचण्ड


 

काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आफ्नो पार्टीले युद्धबाट मुलुकलाई धेरै क्षति हुन नदिन तत्कालीन राजा वीरेन्द्रका भाइ धीरेन्द्रसँग वार्ता गरेको र वीरेन्द्रसँग वार्ता हुने
बेला दरबार हत्याकाण्ड भएको खुलासा गर्नुभएको छ।

उहाँले दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रसँग वार्ता गर्न खोज्दा उल्टो बाटो हिँडेकाले वार्ता हुन नसकेको बताउनुभएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा नेपालका शान्ति प्रक्रियामा विदेशीले भूमिका खेल्न पाएको बताउनुभयो। विदेशीको भूमिकामा नभइ नेपाली भूमिमै अवतरण गराउन चाहेको खुलासा गर्दे उहाँले तर, राजा ज्ञानेन्द्र सक्कली राजा नभएकाले उनले आँट गर्न नसकेको बताउनुभयो।

प्रचण्डले सशस्त्र युद्धको तयारी २०४६ सालमैं शुरू भएको बताउदै नेपाली समाजको वस्तुगत अवस्थाले नै युद्धमा जान बाध्य बनाएकाले जनयुद्ध र शान्ति सम्झौत दुवै बस्तुगत आवश्यकता बताउनभुयो। ‘कसैको व्यक्तिगत लहड र रोमान्समा जनयुद्ध भएको होइन’, प्रचण्डले भन्नुभयो, ‘हामीले बस्तुगत अवस्था बुझेरै युद्ध शुरू नगरेका हौं। त्यतिखेर युद्ध नगरेको भए अहिलेका उपलब्धि हासिल हुने थिएन।’ आफूहरूले १२ बुंदे समझदारी नेपालमै होस् भन्ने चाहे पनि प्रतिकूल परिस्थितिका कारण सम्भव नभएको उहाँले बताउनभयो।

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको जनयुद्धकालीन रिपोर्टिङका संस्मरणहरू समेटिएको पुस्तक ‘अंश’ को मंगलबार काठमाडौंमा लोकार्पण गर्दै प्रचण्डले तत्कालीन संसदवादी पार्टीहरू संविधानसभामा राजालाई सहमत गराउन र आफू पनि आउन असमर्थ भएपछि आफूले राजासँगै वार्ता खोजेको बताउनुभयो।

कार्यक्रममा सम्पादकहरू युवराज घिमिरे, नारायण वाग्ले, गुणराज लुइँटेल, पत्रकार गोविन्द आचार्य, पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, एमाले नेता सूर्य थापालगायतले पुस्तकबारे टिप्पणी गर्नुभएको थियो।

पुस्तकमा लेखकले माओवादीको सशस्त्र जनयुद्धको बेला युद्धग्रस्त क्षेत्रमा स्थलगत रिपोर्टिङमा जाँदामा अनुभव, अविष्मरणीय घटनाहरू र पात्र र प्रवृत्तिको वर्णन गर्नुभएको छ।