बीपी साह, काठमाडौं
शहरी विकास मन्त्री प्रभु साहले समयमा काम नसक्ने ठेक्केदारलाई तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालय सम्हालेको तेस्रो दिन मै मन्त्री साहले कानुनअनुसारको दायित्व पूरा नगर्ने ठेक्केदार कम्पनीलाई कारवाही गर्न निर्देशन दिँदै कारवाही प्रक्रिया अगाडि बढाउन आनाकानी गर्ने निकाय पनि दण्डित हुने बताए।
शहरी विकास एवं भवन निर्माण विभागमा आयोजित मातहतका कर्मचारीहरूसँगको भेटघाटमा मन्त्री साहले एकै प्रकृतिको कुनै काम ६ महिनामा सकिएको र कुनै काम ६ वर्षसम्म पनि नसकिएको अनुभव सुनाउँदै उहाँले निर्धारित समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नसमेत निर्देशन दिनुभयो। आर्थिक वर्षको अन्त्य भइसक्न लाग्दा पनि पुँजीगत खर्च हुन नसकेकोमा सुधार गर्न सबैले मेहनेत गर्नुपर्ने उहाँको सुझाव थियो।
यसैगरी शहरी विकास मन्त्रालयको बेरुजु १ अर्ब ४५ करोड रहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सो बेरुजु कम्तीमा ५० प्रतिशत यही वर्ष फछर्यौट गरिसक्न निर्देशन दिनुभयो। काठमाडौं उपत्यका धुलैधुलो भएकोमा तत्काल सुधारको काम गरी आमजनतालाई प्रभाव पार्ने योजना सम्पन्न गर्न रातदिन खट्नसमेत कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
मन्त्री साहले भन्नुभयो– ‘बाटो ब्लक भएको महिनौ बितिसक्दा पनि काम हुँदैन। एक अर्का निकायमाथि दोष थोपरेर उम्कने नगरौं। जनतालाई सुविधा दिन क्षेत्राधिकार भित्र रहेर सबैले काम गरौं।’
मन्त्री साहले कुनै पनि बहानामा हुने फाइल रोक्ने प्रवृत्तिको अन्त्य गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिँदै क्षेत्राधिकार नभएको फाइललाई अस्विकृत गर्न र क्षेत्राधिकारका फाइललाई तुरुन्त अगाडि बढाउन निर्देशन दिनुभएको हो।
उहाँले कार्यक्रमको बारेमा सबै ठिक भएजस्तो गरी देखाउने प्रचलनप्रति आलोचना गर्दै प्रतिफल देखिने गरी काम गर्न र नकारात्मक प्रवृत्ति तथा समस्याको ढाकछोप नगर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले मन्त्रीको निर्देशनअनुसार समयमा कार्यालय आउने, कार्यालय समयमा कार्यकक्षमा बस्ने र कुनै पनि फाइल झुलाउने काम बन्द भए नभएको विषयमा मन्त्रालयले अनुगमन गर्ने जानकारी दिनुभयो। मन्त्रालयका कर्मचारीहरूले कन्सलटेन्सी गर्ने गरेको गुनासो आउने गरेकोमा सचेत गराउँदै सचिव शर्माले महाशाखा प्रमुखहरूले कार्यालय सकिएपछि प्रत्येक दिन रिर्पोटिङ गर्नैपर्ने बताउनुभयो।
‘यो महिनाभरि प्रत्येक दिन कामको प्रगतिबारेमा जानकारी गराउनुस्। काम नगर्नेलाई कारबाही गर्नुस, काम गर्नेलाई प्रोत्साहन गर्न मन्त्रालय तयार छ।’ सचिव शर्माले भन्नुभयो। मंगलबार नै मन्त्री साहले नारायणहिटी दरबारमा निर्माणाधीन गणतान्त्रिक स्मारकको पनि स्थलगत निरीक्षण गर्नुभएको छ।











प्रतिक्रिया