राष्ट्रपतिको तलब डेढ लाख

0
Shares

 

काठमाडौं, (नेस)
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ। राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय ९६ रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ।

राष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक १ लाख ५० हजार ४ सय ५० रुपियाँ र पोसाक सुविधा शीर्षकमा २ हजार ८४ रुपियाँ, उपराष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक १ लाख ८ हजार ३० रुपियाँ र पोसाक सुविधा शीर्षकमा १ हजार ६ सय ६६ रुपियाँ उपलब्ध गराइने गरी विधेयक पारित भएको छ। राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले विधेयक बनेसँगै २ लाख ६२ हजार २ सय ३० रुपियाँ बेहोर्नेछ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७४ मा राष्ट्रपति र उपराष्ट्रपति स्वदेश भ्रमण गर्दा दैनिक ३ हजार ३ सय र विदेश भ्रमण गर्दा दैनिक भत्ता स्वरुप २५ हजार रुपियाँ प्रदान गरिने उल्लेख छ। यसै गरी, राष्ट्रपति र उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च सरकारले बेहोर्नेछ।

यस्तै राष्ट्रपति र उपराष्ट्रपतिले चाडपर्वको अवसरमा आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रुपमा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयका लागि राष्ट्रपतिले १८ जनासम्म र उपराष्ट्रपतिले १२ जनासम्म कर्मचारी राख्न पाउने गरी विधेयक बनाइएको छ। विधेयकमा भनिएको छ– ‘राष्ट्रपति र उपराष्ट्रपतिको आवासका लागि टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा नेपाल सरकारले व्यवस्था गर्नेछ। यसै गरी, सवारीसाधनलाई आवश्यक पर्ने इन्धन, मोबिल तथा मर्मत सम्भारको व्यवस्था नेपाल सरकारले गर्नेछ।’