एसिड आक्रमणकारी अझै बेपत्ता


 

ललितपुर, (नेस)
ललितपुर प्युटारका ९ वर्षीय करण तामाङलाई एसिड आक्रमण गरेको एक महिना बितिसक्दा पनि अझै पनि दोषीलाई प्रहरीले पक्रन सकेको छैन।

प्युटारको श्री कालिदेवी माध्यमिक विद्यालयको २ कक्षामा अध्ययनरत बालक तामाङलाई अपरिचित व्यक्तिले एसिड खुवाएर अहिलेसम्म फरार भइरहेको र प्रहरीले समात्न नसकेको आमा कान्छीमायाँ तामाङले बताउनुभयो। ‘एसिड आक्रमणबाट घाइते बालक तामाङको हाल महाराजगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बालकको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ’ –आमा कान्छीमायाँले भन्नुभयो।

अपरिचित समूहले करणको मुखभित्र एसिड खन्याएको थियो। मुखभित्र एसिड परेका कारण अहिले बोल्न नसकेको बालक तामाङको जिब्रो र मुख सुन्निएको थियो। करणका दाइ किरण तामाङका अनुसार जेठ ८ गते करण स्कुलबाट फर्किएपछि खेल्न भन्दै साथीहरूसँग बाहिर निस्केका थिए। खेल्न निस्कने क्रममा करणलाई तीन अपरिचित व्यक्तिले मुखमा एसिड हालेका थिए। करण अहिले ईशाराका भरमा मात्रै कुरा गर्छन्।

‘एसिड खन्याउने व्यक्ति को हो भनेर अझै पत्ता लागेको छैन। बच्चा बोल्न नसकेका कारण कसले मुखमा एसिड हालिदिएको हो भनेर खोज्न अप्ठेरो परेको छ’ –पीडित बालककी आमा कान्छीमायाँले भन्नुभयो।घटनाको बारेमा अझै प्रहरीले अनुसन्धान गर्न नसकेको भन्दै आफन्त असन्तुष्ट भएका छन्। करणका बुबा अष्टबहादुर तामाङले घटनालगत्तै प्युटारको प्रहरीलाई खबर गरेका थिए। तर, अहिलेसम्म दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिरहेको छैन।

‘जसरी भए पनि दोषीमाथि कारबाही हुनैपर्छ। हामीले चापागाउँ प्रहरी प्रभाग र जावलाखेल प्रहरी परिसरमासमेत दोषीलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याउन माग गर्दै आएका छौं’ –पीडित पक्ष उपचार र न्यायका लागि पहलकदमी गर्दै आउनुभएका स्थानीय समाजसेवी श्यामन्यासुर तामाङले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले दोषीलाई संरक्षण गर्न राजनीतिक दबाब रहेको पनि आरोप लगाउनुभयो। बच्चा बोल्न नसकेको र आक्रमण हुँदा देख्ने व्यक्ति कोही नभएकाले अनुसन्धान गर्न अप्ठेरो परेकाले ललितपुरका प्रहरी प्रमुख ठूले राइले जानकारी दिनुभयो।