कर फछ्र्यौटका पदाधिकारीलाई पक्राउ पुर्जी


 

काठमाडौं, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुई पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ। २०७१ सालमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उक्त आयोग गठन गर्नुभएको थियो।

अख्तियारले आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो। अख्तियार स्रोतका अनुसार दुवै पदाधिकारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाइएको छ। आयोगले २१ अर्ब रुपियाँ कर मिनाहा दिएको बारे बुझ्न पटकपटक ताकेता गर्दा पनि उहाँहरू उपस्थित नभएपछि प्रहरीलाई पत्र लेखेको आयोग स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो।

कर मिनाहा घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पक्राउ गरेर बयान लिइरहेका बेला शर्माको बयानको आधारमा पुर्जी काटेको बताइएको छ।