साइन्ससिटी निर्माणको तयारी


 

दोलखा, (नेस)
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद पशुपति चौलागाईंले दोलखामा साइन्ससिटी निर्माण गर्न अभियान शुरु भएकाले यसमा सबैको सहयोग रहनुपर्ने बताउनुभएको छ।

माध्यमिक विद्यालय स्तरीय विज्ञान तथा उपकरण निर्माण सम्बन्धी ३ दिने तालिमको आइतबार सदरमुकाम चरीकोटमा उद्घाटन गर्नुहुँदै सांसद चौलागाईंले केही दिनभित्रनै जिल्लास्थित सरोकारवाला निकायसंग बसेर साइन्ससिटी निर्माणका बारेमा छलफल गर्ने जानकारी दिनुभयो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटार ललितपुरको आयोजना तथा जिल्ला शिक्षा कार्यालय दोलखाको संयोजनमा भएको तालिम उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखामा फिल्मसिटी निर्माणको काम अगाडि बढेको उल्लेख गर्नुहुँदै साइन्ससिटी निर्माणले जिल्लाको पर्यटकीय विकासमा थप सघाउ पुग्ने बताउनुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) खुमलटारका महासचिव डाक्टर बुद्धिरत्न खड्गीले दोलखामा साइन्ससिटी निर्माण गर्न आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटारका साइन्स विज्ञ सुरेस ढुङ्गेल, जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछवा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। विज्ञान तथा उपकरण निर्माण सम्बन्धी तालिममा सामुदायिक तथा निजी विद्यालयमा विज्ञान विषय पढाउँदै आउनुभएका २५ जना शिक्षकहरूको सहभागीता रहेको छ।