फोरममा “लफडा” लाइनमा पुग्दा अर्कैको उम्मेदवारी दर्ता


 

नेपाल समाचारपत्र
बाँके
संघीय समाजवादी फोरमको उम्मेदवारी दर्तामा लफडा भएको छ। प्रदेश र जिल्लाबाट छुट्टाछुट्टै व्यक्तिले टिकट पाएपछि उम्मेदवारी दर्तामा लफडा भएको हो। फोरमका जिल्ला अध्यक्ष कमरुद्दिन राइन पूर्वमन्त्री इस्तियाक राइनसँगै दलबलसहित ‘जय मधेस’ को नारा लगाउँदै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गर्न दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए। उम्मेदवारी दर्ता गर्न लाइनमा बसेका राइन जब निर्वाचन अधिकृतले फोरमबाट अघि नै अरुले नै उम्मेदवारी दर्ता गरिसकेको बताए, तब झसंग भए।

बाबुराम भट्टराईको नयाँ शक्तिसँग तालमेल गरेर चुनावमा होमिएको फोरमबाट बिहानै जयाकुमारी खड्काले मेयर र उपमेयरमा ममता बानियाँले उम्मेदवारी दर्ता गरिसकेका थिए। फोरमका जिल्ला अध्यक्ष राइनले आफूले पनि चुनाव चिन्ह मसाल नै रहने गरी उम्मेदवारी दर्ता गरेको बताउनुभयो।

फोरम र नयाँ शक्ति गठबन्धनको नेपालगन्जको मेयरमा मात्रै होइन, डुडुवा गाउँपालिकाको प्रमुख र वडा नं. ४ को अध्यक्षमा पनि लफडा भएको छ। डुडुवा गाउँपालिकाको अध्यक्षका लागि बिहान साढे आठ बजे नै जगदीशबहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको थियो। कांग्रेस पार्टी परित्याग गरेर फोरमबाट गाउँपालिका अध्यक्ष बन्न गएका विजय यादव दिउँसो पुग्दा त्यहाँ पनि लफडा भयो।

डुडुवाको ४ नम्बरको वडाध्यक्षमा पनि रिजवान खाँले बिहानै उम्मेदवारी दर्ता गराउनुभयो। पछि सगिर खाँ पुग्नुभयो। निर्वाचन अधिकृतको कार्यालयले पार्टीको आधिकारिक हस्ताक्षर जाँच गर्दा ‘सक्कली’ नै पाएपछि उनीहरूको उम्मेदवारी दर्ता गरेको थियो। डुडुवा गाउँपालिकाका अध्यक्ष उम्मेदवार सिंहले जिल्लामा विवाद भएपछि प्रदेशले आफूहरूलाई टिकट दिएको बताउनुभयो। उम्मेदवारीमा फोरमका रामसाह यादव र नयाँ शक्तिका देवेन्द्र पौडेलले हस्ताक्षर गरेको पत्र प्रयोग भएको छ। बाँकेका दुवै ठाउँमा प्रयोग भएका हस्ताक्षर आधिकारिक रहेको छ।‘हाम्रो विवाद थियो, हामीलाई प्रदेश कमिटिले टिकट दियो, पछि गएकाहरूलाई जिल्लाले टिकट दिएको होला, सिंहले भन्नुभयो।

फोरमका केन्द्रीय नेता एवं पूर्वमन्त्री इस्तियाक राइनले पहिला नै उम्मेदवारी दर्ता गर्नेहरूले अन्यत्र जिल्लाका लागि पठाएको टिकट पाएर यहाँ भरेको प्रतिक्रिया दिनुभयो। उहाँले पार्टीमार्फत निर्वाचन आयोगले जसलाई आधिकारिक मान्छ, उसैलाई चुनावमा अगाडि सारिने तयारी भएको बताउनुभयो। ‘आधिकारिक भोलि (सोमबार) जाँच हुन्छ, आयोगले जसलाई टिकट दिन्छ, उही नै गठबन्धनको आधिकारिक उम्मेदवार हुन्छ, पूर्वमन्त्री राइनले भन्नुभयो। शुरुमा उम्मेदवारी दर्ता गर्नेहरु सुटुक्क भए पनि पछि गएकाहरुको बाजागाजासहितको तामझाम थियो।